लकडाउनभरि इन्टरनेटको लाइन नकाट्न निर्देशन

बैशाख ०५, २०७७


काठमाडौँ । लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस(कोभिड-१९) को सम्भावित संक्रमण फैलिन नदिन तथा महामारी रोकथामको लागि सरकारले गरेको हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरू सुचारु राख्नु पर्नेमा केही इन्टरनेट सेवा प्रदायकहरूले समयमा महसुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेकाको गुनासो नेपाल दूरसञ्चार प्राधिकरणमा पुगेसँगै यस्तो निर्देशन जारी गरिएको हो ।

प्राधिकरणले लकडाउनको अवधिमा इन्टरनेट सेवाको महसुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न आग्रह गरेको छ ।

यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरूको इन्टरनेट सेवा समेत निरन्तर सञ्चालन हुने गरी लकडाउन अवधि पश्चात् विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरण सेवा प्रदायकलाई निर्देशन दिएको छ