काम नलाग्‍ने र निरर्थक बजेटमा छलफल हुनु लज्जा जनकः डा. मिनेन्द्र रिजाल

जेठ १८, २०७७


१८ जेठ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दलका सांसद डा.मीनेन्द्र रिजालले सरकारले ८३ पेजमा प्रस्तुत गरेको बजेट काम नलाग्ने र निरर्थक भएको आरोप लगाएका छन्। आइतबार संसदमा बोल्दै रिजालले अर्थमन्त्रीले ८३ पेजमा उल्लेख गरेका कार्यक्रम कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको दाबी गरे।  ‘मैले पहिले पनि भनेको थिएँ कि अहिले बजेट सामान्य ल्याऔँ, पछि परिस्थितिलाई आँकलन गरेर पूरक बजेट ल्याऊँला,’ उनले भने, ‘काम नलाग्ने निरर्थक  ८३ पेजको दस्तावेजमा छलफल गर्ने स्थिति सिर्जना गर्नु संसदका लागि योभन्दा लज्जाजनक केही पहि हुँदैन।’

उनले बलियो सरकाले संकटलाई अवसरमा बदल्ने कल्पनाशीलता नदेखाएको आरोप पनि लगाए। ‘बलियो सरकारसँग संकटलाई अवसरमा बदल्ने कल्पनाशिता देखिएन,’ उनले भने, ‘अर्थतन्त्र शिथिल छ पहिले नै थाहा भएको थियो। कोरोनाको कहर भन्दा पहिले नै शिथिल भएको प्रमाणित भएको छ। अर्थमन्त्रालयलाई यही वर्षको असार मसान्तमा राजस्व के हुन्छ थाहा छैन।’ उनले अर्थमन्त्रीले संसदको उपहास गरेको र उपहास नगर्न पनि आग्रह गरे।  ‘तीन चार महिना कसरी सञ्चालन गर्नेमा ध्यान दिऔँ भनेको थिएँ मान्नुभएन।,’ उनले भने, ‘२२ प्रतिशतले राजस्व कसरी बढ्ला? पोहोर साल २९ भन्नुभएको थियो पछि आएर १२, १३ भयो कोभिडका कारण भयो भनियो।’

उनले बजेटमा विभिन्न योजना बनाउँछु भन्ने अर्थमन्त्रीसँग पैसा कहाँ छ भनेर प्रश्न पनि गरे।  ‘बजेटमा बाटो बनाउँछु, सिँचाइृको कार्यक्रम हुन्छ, यी सबै काम गर्ने पैसा तपाईंसँग कहाँ छ?’ उनले भने, ‘पुँजीगत खर्चका लागि स्रोतसाधन नपुग्‍नेगरी बजेट ल्याउनुहोला भन्ने विश्वास थिएन।’