मोटरसाइकलमा २ जना चढ्न नपाउने नियम अव्यावहारिक, समस्या सुल्झाउन छलफल हुँदै

लकडाउन खुकुलो बनाउँदै सरकारले दुई पाङग्रे गाडीमा दुई जना यात्रा गर्न नपाउने नियम बनाएको छ । तर यो नियम जति अव्यावहारिक छ, पालना गर्न र हुन पनि उत्तिकै चुनौतीपूर्ण छ ।
केही समय अघिदेखि नै मोटरसाइकलमा एक जना मात्रै ओहोरदोहोर गर्ने/गराउने अभ्यास गराएको सरकारले शुक्रबारदेखि भने औपचारिकरुपमा नै एक जनामात्रै यात्रा गर्न पाउने नियम लागू गर्याे । शुक्रबारअघि सकेसम्म एक जनामात्रै यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गर्दै आएको थियो । शुक्रबार सरकारको निर्णयअनुसार ट्राफिक प्रहरीले मोटरसाइकलमा दुई जना चढ्नेलाई नियन्त्रणमा लिन थाल्यो । ठाउँठाउँमा दुई जना चढेकालाई रोक्न थाल्यो ।
शुक्रबार बिहानदेखि यो समाचार तयार पार्दासम्म ट्राफिक प्रहरीले दुई जना यात्रा गरेको तीन सय ७४ वटा मोटरसाइकललाई होल्ड गरेको छ । नियन्त्रणमा लिइएको मोटरसाइकललाई बेलुकामात्रै चालकको जिम्मा लगाइने छ । ‘यो लकडाउन उल्लङ्घनजस्तै भएकाले नियन्त्रणमा लिएका हौँ’, एक ट्राफिक प्रहरीले भने’, ‘माथिबाट नै नियन्त्रणमा लिन आदेश आएको छ ।’
मोटरसाइकलमा दुई जना चढ्न नपाउने नियम कत्तिको व्यावहारिक ?
दुई पाङग्रे गाडीमा एक जनाबाहेक अर्को यात्रा गर्न नपाउने नियमको विरोध हुन थालकेको छ । काम विशेषले हिँडेकाहरु जथाभाबी नियम लागू गरेको भन्दै आक्रोशित भएका छन् । सरकारको आदेशसँगै ट्राफिक प्रहरीले दुई जनालाई यात्रा गर्न नदिन सुरक्षा जाँचलाई कडाइ पारेको छ ।
तर यो नियमले नागरिकलाई समस्या परेको भन्दै समस्या समाधान गर्न नियम लागू भएको पहिलो दिन नै छलफल सुरु भएको छ । काम विशेषले हिँड्ने नागरिकलाई परिवारका सदस्यले पनि कार्यालय ल्याउने/पुर्याउने गर्ने गरेकाले काम प्रभावित भएको भन्दै समस्या सुल्झाउन माथिल्लो निकायसँग छलफल थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी, वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयाे, ‘यो नियमले नागरिकलाई समस्या पारेको महसुस गरेका छौँ, उहाँहरुलाई दुःख दिने हाम्रो नियत होइन । समस्या समाधान गर्न हामी छलफलमा जुटेका छौँ, अर्को निर्णय नभएसम्मकाे लागि भने दुई पाङग्रे गाडीमा दुई जना चढ्न नपाउने नियम नै लागू हुनेछ ।’