चौतर्फी दबाबपछि समाजवादीले सरिता गिरिलाई सांसदबाट हटाउने तयारी

असार ०२, २०७७


पार्टी भित्र र बाहिर चर्को दबाबपछि समाजवादी पार्टीले आफ्नी सांसद सरिता गिरीको पद खारेज गर्ने सम्मको कारबाही अघि बढाउने तयारी गरेको छ। सांसद गिरि पार्टीको नीति र निर्देशन विपरीतका गतिविधिमा संलग्न भएको भन्दै समाजवादी पार्टीले उनको पद खारेज गर्ने सम्मको कारबाही अघि बढाउने तयारी गरेको हो। पार्टीले निर्णय गरेमा समानुपातिक सांसदको पद खोस्न सकिने प्रावाधन कानुनमा छ।

सरकारले ल्याएको संविधान संशोधन विधेयकको प्रावधान खारेज गर्नुपर्ने भन्दै पार्टीको निर्णय विपरीत सांसद गिरीले संशोधन हालेकी थिइन्। पार्टी र संसदीय दलले संविधान संशोधन विधेयक फिर्ता लिन गरेको ह्वीप र निर्देशनको समेत उनले अवज्ञा गरेकी थिइन्। सभामुख अग्नि सापकोटाले उनले दर्ता गराएको संशोधन विधेयक अस्वीकृत गरेपछि सांसद गिरि मतदान हुनु अघि संसद्बाट बाहिरिएकी थिइन्।