कांग्रेसको अडान, नागरिकता ऐन २०६३ अनुसार अघि बढौं

असार ५, नागरिकता सम्बन्धी विधेयकलाई नागरिकता ऐन २०६३ को प्रावधानअनुसार अगाडि बढाउनुपर्ने पक्षमा आफूहरु रहेको नेपाली कांग्रेसले स्पष्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता सम्बन्धमा छलफल गर्न बिहिबार बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस नेताहरुले यस्तो धारणा राखेका हुन्। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको भेटमा कांग्रेसका तर्फबाट कांग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि, नेताहरू कृष्ण सिटौला, मिनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्की, रमेश लेखक, राधेश्याम अधिकारी र दिलेन्द्र बडु थिए।
नेकपाबाट प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए। यसैगरी, संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठ पनि बैठकमा सहभागी थिइन्।बैठकमा कांग्रेस उपसभापति निधिले नागरिकता ऐन २०६३ सबैको सहमतिमा जारी भएको स्मरण गराउँदै अहिले भइरहेको व्यवस्थाअनुसार नागरिकता विधेयक अगाडि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताएका थिए।
निधिले विदेशबाट आएका महिलाले बिहे गरेर आउनासाथ नागरिकता पाउने यसअघिको प्रावधान निरन्तरता दिनुपर्ने धारणा राखेका थिए। कांग्रेस नेता रमेश लेखकले पनि नेपाली कांग्रेस, नागरिकता ऐन २०६३ कै प्रावधानअनुसार विधेयक अगाडि बढाउने पक्षमा रहेको बताए।५ भदौ देखि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता बिधेयक विचाराधीन छ।