दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

२४ असार, काठमाडौं । ईपीएस रोजगार प्रक्रिया पूरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् ।
रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सृजना गर्न माग गर्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु…’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरु कोरिया जान पाएका छैनन् । उनीहरुले दक्षिण कोरियाको उडान सुरु गरेर आफूहरुलाई छिटो कोरिया पठाउनुपर्ने माग राखेका छन् ।
आफ्ना मागबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाउने उनीहरुको योजना छ ।