सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दुई घर पुरिए, ५ बेपत्ता

साउन ०१, २०७७


१ साउन, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् ।

गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् । गेन्जिङ चालक हुन् । काठमाडौं उपत्यकाबाहिर रहेका उनी पहिरोले घर पुरेको खबर पाएपछि गाउँ फर्किँदै छन् ।

घटनास्थलमा रहेका स्थानीयवासी बुद्धि गुरुङका अनुसार पहिरोमा पुरिएको अर्को घर भने ङासम्बु शेर्पाको हो । त्यो घरमा भने कोही पनि बस्दैनथे ।

गुरुङका अनुसार प्रहरीहरु घटनास्थलमा पुगिसकेको छैनन् । गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले प्रहरीहरुलाई खबर गरेको र उनीहरु घटनास्थलमा जाँदै गरेको बताइन् ।

गएराति करिब साढे १ बजे पहिरो गएको थियो । पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ ।