कुशे औंसीको धार्मिक महत्व र कुशको वैज्ञानिकता

भदौ ०२, २०७७     मुस्कान खनाल ( युवा ज्यातिषी तथा वास्तुशास्त्री )


कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो | यस पर्वलाई बाबुको मुख हेर्ने दिन, गोकर्ण औँशी आदि नामले पनि चिनिन्छ । यो पर्वलाई पितृ सम्मान र पारिवारिक मिलनको पर्वको रुपमा लिईन्छ । ”पितृदेवो भवः ” भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई सम्मान र आदर सहित मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । कुशे औँसीका दिन हामी विश्वभरीका हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँ छौं । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक मान्यता छ ।

हामी हिन्दूहरू कुशलाई भगवान विष्णुको प्रतीक मान्छौं । कु”शब्दको अर्थ पाप र “श” शब्दको अर्थ शमन भन्ने हुन्छ। पापलाई शमन गर्न सक्ने शक्ति भएकाले यस वनस्पति लाई कुश भनिन्छ ।

वैज्ञानिक भाषामा कुश लाई Desmostachya bipinnata भनिन्छ । कुश र धार्मिक संस्कारको गहिरो सम्वन्ध छ । कुनै पनि हिन्दू संस्कारमा कुश हुनै पर्छ । पूजा गर्दा साहिली औंलामा कुशको औंठी लगाइने गरिन्छ । कुशासनमा बसेर पूजा पाठ गरिंदा आरोग्य, लक्ष्मी प्राप्ति , यश र तेजको वृद्घि हुन्छ । साधकको एकाग्रतामा पनि विचलन आँउदैन।

कुशेन रहिता पूजा विफला कथिता मया ।।” कुश प्रयोग नगरिएको यज्ञ निष्फल हुन्छ ।

कुश प्रयोगमा ल्याउनुको वैज्ञानिक अर्थ के छ ? आउनुस चर्चा गरौ ।

कुश सात्विक वनस्पति हो | यसले बुद्धिमता प्रदर्शित गर्दछ । कुशको प्रयोग कुशाशन बनाउन पनि गरीन्छ । कुशाशनको प्रयोग प्रत्येक शुभाशुभ कर्ममा गरिन्छ | कुशको आसन माथि बसेर जप गर्ने साधकले प्राप्त गर्ने ऊर्जा पृथ्वीमा जान पाउन्न । कुशको आसनले त्यो उर्जालाई पृथ्वीमा जान रोक्तछ अर्थात यतिखेर कुशले आफ्नो नैसर्गिक गुणहरुको कारण ऊर्जाको कुचालक सरह व्यवहार गर्दछ । यही सिद्धान्त पूजा-पाठ तथा धार्मिक कर्मकाण्डिय व्यवहारमा पनि लागु हुन्छ | देवि देवताको पूजा ,यज्ञ,हवन, यज्ञोपवीत, (उपनयन ,व्रतवन्ध ,चूडा ) ग्रहशान्ति कर्म गर्दा रुद्र कलश एवं वरुण कलशमा जल भरेर कुश नै राखिन्छ | त्यसरी कलशमा कुश राख्नुको अर्थ वैज्ञानिक पक्षमा कलशमा भरिएको पानी लामो अवधी सम्म जीवाणु मुक्त रहन सक्छ भन्ने हो ।

वैज्ञानिक अनुसन्धानमा कुशको टुप्पामा “फोनेटिक भाइब्रेशन” सुचालन गर्ने क्षमता भएको कुरा पुष्टि भएको छ, विभिन्न उपकरणहरुबाट आउने विकिरण हरुलाई नाश गर्ने क्षमता कुशले राख्दछ। कुशबाट उत्पन्न हुने चुम्बकीय प्रभावले रक्त संचारलाइ समेत सहज बनाइदिन्छ ।

ग्रहण लागेको समयमा दहि , दुध, अन्न , पानी, खाद्य वस्तुहरुमा कुश राखी दिने हो भने ग्रहण कालमा निस्किएका परमाणुहरुको दुस् प्रभाव ती वस्तुहरुमा पर्दैन । कुश यस्तो वनस्पति हो जस्ले प्राणवायु (ओक्सिजन) को फैलाउन सबैभन्दा बढी कार्य गर्छ, यो Anti Oxidental छ, यो पाइल्सको रोग निको पार्न प्रयोग हुन्छ ।

पाइल्सको रोग निको हुने भएकोले नै होला आसनको रूपमा प्रयोग गरिएको | पिसाव पोलेको निको पार्ने भएर पनि यो आसनका रुपमा कुशको प्रयोग आरम्भ भएको स्पष्ट हुन्छ | दर्भयुग्मम् पवित्रस्यान्मूत्र क्रिछ्रघ्नशीलतम् (कै.नि. १२४१ औषधिवर्ग) शास्त्रहरूले कुशलाई आरोग्यवर्धक, वातावारण शुद्धकारक, जीवन वायु प्रदाताका रूपामा पहिचान गरिएको छ । प्राचीन ऋषिहरूले कुशको कुचालक शक्तिलाई बुझेर नै सूर्य-चन्द्र ग्रहणका बेला विकिरणबाट अन्नपात, भोजनआदि जोगाउन कुशको प्रयोग गर्थे । आज पनि हामी सनातन धर्मी हिन्दूहरू ग्रहणका बखतमा कुशको प्रयोग गर्छौं । अंग्रेजीमा यसलाई Love grass भनिन्छ ।

अचम्मको कुरा के भने पश्चिमा देशहरूमा कुशलाई यौनशक्ति वर्धक घाँसका रूपमा प्रयोग गरिन्छ । आयुर्वेदकाअनुसार कुशले रक्तपित्तको दोष निवारण गर्छ (ध.नि ४/११९) । कुशले मूत्र दोषहरूलाई निवारण गर्छ (अ.स.सु १५/३२ मूत्र विरेचन गण) । महिलाहरूका स्तनपान सम्वन्धि समस्या समाधान गर्न मदत गर्छ ( अ.स.सु १५/१९ स्तन्य ।आधुनिक ल्याबले समेत कुशका उपरोक्त औषधिगुण प्रमाणित गरेको छ |

लेखक युवा ज्योतिषी तथा वास्तुशास्त्री मुस्कान खनाल दक्षिण एशियाली ज्योतिष महासंघका केन्द्रिय सदस्य हुन् । सम्पर्क – ग्लोबल एस्ट्रलोजी घोराही दाङ माेवाइल ९८५११९३९६४, ९८२२८५०७३५

लेखकको वारेमा थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/astromuskan