श्राद्ध यसकारण वैज्ञानिक

भदौ १६, २०७७     मुस्कान खनाल


भाद्र १७ गते बुधवार (September 2nd) अर्थात भाेलिदेखी यस वर्षको सोह्रश्राद्ध सुरु हुँदैछ ।श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ एउटै हो– पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु

जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । यसैगरी उनीहरूको मृत्यु भएपछि शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ । हरेक वर्ष आश्विन कृष्णपक्षको प्रतिपदा तिथिदेखि औँशीसम्मको पन्ध्र दिनलाई पितृपक्ष भनिन्छ । यस समयमा आफ्ना पितृहरुको मृत्यु भएको तिथि मिलाएर श्राद्ध गर्ने परम्परा रहेको छ । यो अबधिमा मृत्यु भएको तिथिका दिन आफ्ना पितृहरुलाई तर्पण दिइन्छ, पिन्ड चढाइन्छ र धार्मिक अनि सास्कृतिक रुपमा संझना गरिन्छ । आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्म सूर्य कन्या राशिमा भएको अवस्थामा तिथि मिलाएर आफ्ना समस्त पितृहरूको श्राद्ध गर्नाले पितृको कल्याण मात्र होइन, उनीहरूको आशीर्वादबाट श्राद्ध गर्नेको पनि कल्याण हुन्छ, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने पुराणहरूमा वर्णन गरिएको छ ।

श्राद्ध अर्थात् पितृयज्ञ वेदसम्मत छ , यो लौकिक चलन होइन । पितृयज्ञ शास्त्रसम्मत त छ नै तर विज्ञानसम्मत होला कि नहोला त ? मान्छे जन्मेपछि प्रकृतिसँग अनेक प्रकारका का सामाजिक कार्यव्यवहार गर्छ । कहिले खुसी हुन्छ, कहिले रिसाउँछ । कहिले केही प्राप्ति गरेर मनलाई गद्गद् बनाउँछ र गुमाउँदा मन खिन्न बनाउँछ । यस्तै अनेकानेक कार्यव्यवहार गर्ने, सोच्ने, योजना बनाउने कामको सिलसिला जीवनभर चलिरहन्छ । जब मान्छे मर्छ, जिउँदो छँदा सोचिएका, गरिएका कामको प्रभाव सपनामा परेजस्तै मृत्युपछि आत्मासँग सँगै जान्छ र तिनै काम र सोँच अनुसार सूक्ष्म शरीर बन्न जान्छ ।

यो कुरा गीताको चौधौँ अध्यायमा यसरी भनिएको छ : ”रजसि प्रलयं गत्वा कर्मसंगिषु जायते” तथा ”प्रलीनस्तमसि मूढयोनिषु जायते” अर्थात्, मृत्युपछि मान्छेको सूक्ष्म शरीरसहितको आत्मा मुक्त अवस्थामा पुग्छ, यदि ऊ जिउँदो छँदा आफूलाई मानव र प्रकृतिसँग उच्च व्यवहार गरेर शुद्ध बनेको छ भने। मध्यम खालको अर्थात् रजो गुणमा रमाएका मानिस मरेपछि सकाम कर्मयुक्त शरीर प्राप्त गर्छ भने यदि प्रकृति र मानव तथा समस्त प्राणीप्रति दुव्र्यवहार, लोभ, लालच, मद, मात्सर्यमा भुलेको छ अर्थात् तामसी व्यवहार गरेको छ भने त्यस्तो व्यक्ति मरेपछि मूढ अवस्थामा भड्किरहन्छ । त्यस्तो मूढ विचारसहितको आत्मा जीवनमा लामो समय माया र भरोसा गरेका सन्तानको नजिक आइरहन्छ । यो स्वाभाविक र विज्ञानसम्मत छ जसरी मान्छे दिनभरि जस्तो काम गर्छ, पहिलेदेखि जस्तो चाहना राखेको छ, त्यस्तै सपना देख्छ । त्यसैगरी अतृप्तिमै शरीर छोडेकाे आत्मा पनि मूढ अवस्थामा पुरा नभएका सपनाहरु लिएर त्यहि पुरानो दुनियाँमा भड्किरहन्छ । यो भड्किरहेको अतृप्त आत्मालाई वैदिक विधि अनुसार गरिने तर्पण, पिण्डदानद्वारा तृप्त पार्न सकिन्छ, यो वैदिक मान्यता हो ।

मान्छे मरिसके, शरीर डढिसक्यो, अहिले पानी र अन्नका डल्ला पल्टाएर कसरी पाउँछन् त उनीहरूले ? प्राणीमध्ये मान्छेको मानस शक्ति अत्यन्तै शक्तिशाली हुन्छ । मान्छेले आफ्नो मनलाई एकतृत गरी ध्यान गर्दा अपार शक्ति प्राप्त हुन्छ भन्ने कुरा प्राचीन वा आधुनिक ऋषिमुनि र महात्माहरूले प्रमाणित गरेका छन् । ओमकारको जप, ध्यानमा अपार शक्ति हुन्छ भन्ने कुरा पश्चिमा वैज्ञानिकहरूले पनि स्वीकारेकै छन् । टाढाका बिरामीलाई शुभचिन्तकले सन्चो होस् भनेर कामना गर्दा उसलाई आराम भएको कुरा पश्चिमा अध्ययनले पनि पुष्टि गरेको छ । आधुनिक वैकल्पिक उपचार पद्धति ‘रेकी’ पनि मन र प्राकृतिक शक्तिसँगको अन्तरक्रिया नै हो । केही वर्ष पहिले युरोपका वैज्ञानिकहरूले ‘हिग्सबोसोन’ (गड पर्टिकल) ईश्वरीय कण पत्ता लगाए । जुन कण अदृश्य छ, जसले कुनै पनि वस्तुलाई अस्तित्वपूर्ण बनाउँछ र यसैका कारण वस्तुले तौल प्राप्त गर्छ । यो ईश्वरीय कण अस्थिर पनि छ । यसले पनि भड्किरहेको अति सूक्ष्म शरीर प्राप्त आत्मालाई प्रमाणित गर्छ ।

श्राद्धमा प्रयोग हुने जौ, तिल, कुश, तामाका भाँडा, पहेँला–सेता फूल, शुद्ध जल आदि विशिष्ट गुण भएका प्राकृतिक पदार्थ हुन्, जसको अन्तरक्रियाले त्यो सूक्ष्म कण र मानव मनलाई जोड्छ । तिल र कुशसहित जलले तर्पण गर्दा ‘तृपतामिदं तिलोदकं तस्मैस्वधा’ भनेर दायाँ हातको बूढी औँलाबाट जल दिइन्छ । त्यस्तै पिण्ड दिँदा ‘यस पिण्डो अमृतस्वरूपो अक्षयतृप्ति हेतोस्ते स्वधा’ भनेर दिइन्छ । पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ । अघिल्लो दिनदेखि नै सात्विक भोजन र ब्रह्मचर्य आवश्यक पर्छ । अनेकतिर भड्किरहेको मन, अशुद्ध शरीर र वचन सूक्ष्म शक्तिसँग जोडिन सक्दैन । अशुद्ध अवस्थाले अशुद्धताका कारण भड्किरहेको अर्को आत्मालाई सकारात्मकतातिर लैजान सकिन्न अझ मन नै नकारात्मक अवस्थामा छ भने झन् विकृत हुन सक्छ ।

हाम्रा धर्मग्रन्थले ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया’ भनेका छन् । पितृ यज्ञ गर्दा पनि आफ्ना मातापिता मात्र नभएर समस्त पृथ्वीका पितृको कल्याण होस् भनेर जल अर्पण गरिन्छ । ‘अतीत कुलकोटिनाम् सप्त द्वीप निवासनाम् । आब्रह्म भुवना ल्लोकाद् इदमस्तु तिलोदकम्’।। अर्थात् धेरै पहिलेदेखि करोडौँ कुलका पितृहरु, जो सातै द्विपमा बस्थे, तिनीहरूलाई पनि मैले तिलसहितको जल अर्पण गरेको छु । समस्त मृतात्मा अर्थात् पितृशक्ति यो ब्रहमाण्डको देवत्व शक्तिको एउटा अंश भएको वेदले बताएको छ । त्यसलाई तृप्त, स्थिर र प्रफुल्लित रूपमा राखे सबैको कल्याण हुन्छ भन्ने वैदिक मान्यता छ । अतृप्त र विकृत शक्ति ब्रह्माण्डमा रहँदा सबैलाई सधैँ दु:ख दिइरहन्छ । यो विज्ञानसम्मत कुरा नै हो ।

लेखक युवा ज्योतिषी तथा वास्तुशास्त्री मुस्कान खनाल दक्षिण एशियाली ज्योतिष महासंघका केन्द्रिय सदस्य हुन् । सम्पर्क – ग्लोबल एस्ट्रलोजी घोराही दाङ माेवाइल ९८५११९३९६४, ९८२२८५०७३५

लेखकको वारेमा थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/astromuskan/