लभ स्टोरी फिल्मका सफल निर्देशक ‘सुदर्शन थापा’

भदौ २२, २०७७


केही महिना अगाडि आयोजित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर रिलिज कार्यक्रममा कलाकार हरिहर शर्माले निर्देशक सुदर्शन थापाको प्रशंसा गरे । उनले, चलचित्र ‘बासुदेव’पछि आफूले अर्को उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकसँग काम गरेको सुनाए । शर्माले सुदर्शनको काम गर्ने तरिका, चलचित्रलाई वुझ्ने शैली फरक रहेको सुनाए ।

हरिहर शर्माको यो कुराले पनि चलचित्र निर्देशनमा सुदर्शन थापाको सोच र शैली वुझ्न सकिन्छ । हुनत, सुदर्शनले आफ्नो करिअरमा निर्देशन गरेका केही चलचित्र असफल छन् भने कतिपय नराम्रा पनि छन् । तर, नेपाली चलचित्रमा उनलाई लभ स्टोरी चलचित्रका सफल निर्देशक मानिन्छ ।

सुदर्शनले निर्देशन गरेको ‘मेरो एउटा साथी छ’ आधुनिक प्रेमकथाको नयाँ आयाम थियो । उनै, सुदर्शनको अर्को छलाङ चलचित्र ‘प्रेमगीत’ पनि हो । सुदर्शनको चलचित्रमा लभ स्टोरी कथामा व्यवसायिकता भेटन् सकिन्छ । उनले निर्देशन गरेका चलचित्रका गीतसंगीत उत्कृष्ट हुने गरेका छन् ।

उनले, ‘के यो माया हो, मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, सम्हालिन्छ कहिले मन’ जस्ता लभ स्टोरी चलचित्र निर्देशन गरेका छन् । यस्तै, उनले ‘अझै पनि, चंखे शंखे पंखे’मा मुख्य नायकको रुपमा पनि काम गरेका छन् । सुदर्शनले ‘धन्दा’ जस्तो फरक बिषयको चलचित्र र राष्ट्रियताको कथामा ‘चंखे शंखे पंखे’ निर्देशन गरे ।

सुदर्शनलाई नेपाली चलचित्रमा स्टार नायक–नायिका जन्माउने निर्देशकको रुपमा पनि चित्रित गरिन्छ । उनले, नायक आर्यन सिग्देल, प्रदिप खड्का, पूजा शर्मा जस्ता कलाकारलाई स्टार बनाएका छन् । नम्रता श्रेष्ठ, पल शाह, आकाश श्रेष्ठ जस्ता कलाकार सुदर्शनको चलचित्रमा जोडिएपछि चर्चामा आए ।

चलचित्र निर्देशन मात्र नभएर चलचित्र निर्माणमा समेत होमिएका सफल निर्देशक थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ रिलिजको प्रतिक्षामा छन् ।