परिवर्तन गाँउपालिका रोल्पाले मनायो १७औ निजामति सेवा दिवस


आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो ।
यसैविच रोल्पाको परिवर्तन गाँउपालिले एक कार्यक्रम गरि १७औ निजामति सेवा दिवस मनाएको छ । कोभिड– १९ जोखिमका कारण कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाईएको हो ।
हरेक वर्ष भाद्र २२ मा मनाईदै आएको निजामति सेवा दिवसलाई सबै कर्मचारीहरुमा शुभकामना आदान प्रदान गर्दै दिवस मनाएको हो । गाँउपालिकाकी उपाध्यक्ष हित कुमारी बुढा मगरको विशेष आतिथ्यतामा कार्यालयमा कार्यरत सबै कर्मचारीको उपस्थितीमा दिवस मनाईएको हो । कार्यक्रममा वोल्दै उपाध्यक्ष बुढाले यस्ताखालका दिवसहरुले कर्मचारीको मनोवल बढाउने भन्दै आगामी वर्षदेखि निजामती सेवा दिवसमा कर्मचारीहरुको कार्यसम्पादनको आधारमा प्रत्येक वर्ष एक जनालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिने बताउनुभयो ।

सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु सवै राष्ट्रसेवक कर्मचारीको दायित्व भएको उहाँले बताउनुभयो । यस्तै कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव राज न्यौपानेले विकास प्रक्रियामा सार्वजनिक प्रशासनको योगदानको चर्चा गर्दै निजामती सेवामा संलग्न कर्मचारीको सेवा प्रवाहको प्रभावकारिता नै नागरिक सामु देखिने सरकारको प्रतिविम्ब भएकाले यस सेवामा आबद्ध सबै राष्ट्रसेवकले जिम्मेवारी तथा उत्तरदायी भएर पेशागत मर्यादा कायम राखी कर्तव्यपालनमा व्यावसायिक निष्ठा र निष्पक्षताका साथ डटेर लाग्नुपर्ने बताउनुभयो । साथै कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले निजामती सेवा दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्नुभएको थियो ।