सरकारको राष्ट्रिय आकाङ्क्षालाई कर्मचारीले पूरा गर्नुपर्ने : मन्त्री त्रिपाठी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सरकारको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई मूर्तरुप प्रदान गर्न कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्ने बताएका छन्। आज १७औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सरकारले तय गरेका ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई पूर्णरुप प्रदान गरी राष्ट्रको समृद्धि र सुशासन कायम राख्न निजामती कर्मचारी सक्षम, प्रविधिमैत्री, अनुशासित, मर्यादित र कामप्रति प्रतिबद्ध हुनुपर्ने बताएका हुन्। उनले देशको समग्र विकास र नागरिकको सेवामा समर्पित कर्मचारी स्थायी सरकारका रुपमा काम गर्दै सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक तुल्याउनुपर्ने बताए। मन्त्री त्रिपाठीले यस वर्ष कोभिड–१९ का कारणले सरकारले लक्ष्य गरेबमोजिमको उद्देश्य हासिल गर्न नसके पनि यस रोगको संक्रमण, रोकथाम तथा नियन्त्रणको अग्रपङ्क्तिमा रहेर निजामती कर्मचारीले अतुलनीय योगदान गरेको स्मरण गरे। उनले राजनीति र प्रशासनबीच पछिल्लो समयमा विभिन्न मतभेद रहेपनि राजनीति र प्रशासनको स्पष्ट सीमारेखा तय गरी राज्यको समग्र विकासमा दुवै पक्ष अगाडि बढेमा राष्ट्रको बृहत्तर हित हुने बताए। राजनीतिक नेतृत्वले लिएको लक्ष्य एवं उद्देश्य प्राप्तिमा राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारीमा सदैव अग्रसर हुन सकेमा स्थायी सरकारका रुपमा रहेको सार्वजनिक प्रशासनको श्रीवृद्धि गर्न दिवसले सबैलाई उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनले निजामती सेवालाई थप व्यावसायिक, स्वच्छ, सक्षम, पारदर्शी, निष्पक्ष, भ्रष्टाचाररहित, जनमुखी र परिमाणमुखी बनाउनु आजको आवश्यकता रहेको उल्लेख गरे। शुभकामना सन्देशमा मन्त्री त्रिपाठीले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीमा उच्च मनोबल कायम राख्न विद्यमान सेवा, शर्त, वृत्ति विकास र अवसरमा विभेद नहुने गरी संसद्मा विचाराधीन रहेको सङ्घीय निजामती सेवा ऐन जारी गर्ने र त्यसकै मार्गदर्शनमा रहेर प्रदेश निजामती एवं स्थानीय सेवा ऐन जारी गर्नेसमेत बताए। यस वर्षको ‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ दिवस आज मनाइँदैछ। सरकारले निजामती सेवा ऐन २०१३ भदौ २२ गते जारी भएको दिनको सम्झानामा दिवस २०६१ सालदेखि मनाउँदै आएको छ।