‘विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि’

भदौ २८, २०७७


२८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको मृत्यु भएको यो साता पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले जानकारी दिएको समितिले जनाएको छ ।

यसका साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताए ।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।