कुलमानको नियुक्ति: पार्टीका प्रवक्ता र प्रधानमन्त्रीका सल्लाहकारवीच मतभेद

भदौ ३०, कुलमान घिसिङको नियुक्तिको विषयलाई लिएर सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापावीच मतभेद देखिएको छ । प्रवक्ता श्रेष्ठले कुलमान घिसिङलाई नेपाल आमाका सुयोग्य सुपुत्रको संज्ञा दिँदै पुनःनियुक्त गरिनुपर्ने ट्विटरमा लेखेका छन्-
प्रवक्ता श्रेष्ठको ट्विटको जवाफ दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लामो स्टाटस सार्वजनिक गरेका छन् कुलमान घिसिङको पक्ष–विपक्षका यतिबेला आआफ्ना मतरअभिमत होलान् । मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैन । तर एक अवधि पूरा गरेर हिजो विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै…कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ?
“नेपाल आमाका सपुत” को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ ? सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरीत व्यक्तिगत दबाब र लबिङ ? पार्टीको हाल जिम्मेवारी यही हो र ? सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यको संस्थागत दायित्व पनि होइन, अनि यो तरिका किन ? के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित होला ? बुझ्नै पो कठीन भयो !
नेकपा सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठले आइतबार फेसबुकमा स्टाटस लेख्दै कोभिडबाट समस्यामा परेकाहरुलाई स्वयंसेवा गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीका सल्लाहकार थापाले त्यस्तो ‘स्वयंसेवक दस्ता परिचालन’ उदेकलाग्दो भएको बताएका छन् । प्रवक्ता श्रेष्ठले भनेका छन्,‘कोभिड १९ को सन्दर्भमा आपत पर्दा स्वयंसेवा गरिनेछ, खबर गर्नुहोला ।’
तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रवक्ता श्रेष्ठलाई जवाफ दिँदै यसो गर्नु अनुपयुक्त हुने बताएका छन् । थापाले भनेका छन् प्रवक्ताको व्यक्तिगत सचिवालयअन्तर्गत “अहिले आए आाँसु ” जस्तो गरी निजी हिसाबमा “ स्वयंसेवा दस्ता’’ परिचालनको घोषणा अर्काे उदेकलाग्दो कार्य जानकारीमा आयो । यो संगति र सरोकार नै नभएको कुरा भयो । चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म आइपुग्दा सिंगो देश कोरोनासँग जुध्न सक्रिय छ ।
जसको पार्टी जिम्मेवारी स्वयंसेवक परिचालन होइन र त्यस्तो कार्यविभाजन कहीँकतै छैन । यसमा एकाएक किन रुचि बढेको होला ? जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएमसी र राज्यका विभिन्न निकायहरू लागेर गरिरहेका छन्, अनि पार्टी प्रवक्ताले यसरी स्वयंसेवक परिचालन गर्ने, त्यो पनि आफ्नो सचिवालयअन्तर्गत व्यक्तिगत निर्णयबाट ? यस कामका लागि संस्थागत निर्णय, अख्तियारी र अनुमोदन पनि आवश्यक नै नपर्ने ? बितेका छ महिनासम्म केही गर्नु नपर्ने, सातौं महिना लाग्ने बेला यो के गर्न खोजिएको होला ? आपत विपद भनेको अहिले धून बजाउँदै आएको त होइन होला ? कि यी दुबै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएको हो ?
थापाले अगाडि भनेका छन् ‘म प्रचार विभागको उपप्रमुखको जिम्मेवारीमा रहेका कारण यसमा निकै खसखस लागेर आयो । सार्वजनिकरूपमा प्रचारित विषय हुनाले सार्वजनिक रूपमै यी दुई जिज्ञासा राख्न उपयुक्त सम्झेको सम्बद्ध सबैमा निवेदन गर्दछु ।