कर्मचारीको नियति

असोज २६, २०७७     चिन्तामणि रेग्मी



एका विहानै मोवाइल घ्वार्र घ्वार्र गर्यो । म निद्रामै रहेछु ब्युझिए । मोवाइलमा फोन आएको रहेछ । मेरो मोवाईल प्राय भाइब्रेसन मोडमा हुन्छ । विहानिको निद्रा सबैलाई प्यारो हुने गर्दछ । त्यसमा पनि म अलि बढी सुत्ने मान्छे । रातिमा जतिसुकै ढिलासम्म बस्न सकेपनि विहान चाडै उठेको दिन दिनभर शरीर ह्यांगओभर भएजस्तो हुन्छ । फोन आएपछि निद्रा खुलिहाल्यो । जाँगर नलागी नलागी मोवाईल हेरे । मिना भाउजुको फोन रहेछ । जुरुक्क उठेर फोन रिसिभ गरे । उहाँ हतारहतारमा बोल्नुभो । बाबु नबिन दाई निजामति अस्पतालमा भर्ना हुनुभएको छ । उँहाको अवस्था सिरियस छ । म सँग भएको पैसा पनि सकिसक्यो तपाई जतिसक्दो छिटो आउनुस है । मैले धेरै सोच्नै सकिन के भनौ के नभनौ भयो, हुन्छ भाउजु म आउछु भनेर फोन राखिदिए ।

एकैछिन त मलाई निद्रामा छु र यो सबै सपना हो जस्तो लाग्यो । आफैलाई चिमोटे होइन रहेछ म त बिपनामै रहेछु भन्ने कुरा कन्फर्म भयो । के भएको होला दाजुलाई । त्यस्तो कुनै रोग भएको पनि थाहा थिएन । अचानक के पो भयो फेरी, ढुकढुकी बढन थाल्यो । के गरौ कसो गरौ भयो । एकछिनपछि बाथरुम छिरे फ्रेस भए । कपडा चेन्ज गरे । बाइक निकाले । बाईकको एक्सिलेटर बटारे बाइक आफ्नै गतिमा अघि बढयो । बाईकको गतिभन्दा मेरो मनको गति झनै तिब्र भइदियो । मन कल्पनाको संसारमा फनफनी चक्कर लगाउन थाल्यो र नविन दाजुको तस्विरमा गएर टक्क अडियो ।

६ फिट १ इन्च उचाई, गोरो छुदा पनि दाग लाग्ला जस्तो छाला, जिम गरेर बनाएका दरिला र आकर्षक पाखुरा, बिचमा सिँउदो बनाएर दुवैतिर फर्काएको कालो लामो कपाल, आँखाबाट कहिल्यै नहराउने कालो चस्मा । कुनै सिनेमाको हिरो भन्दा कम देखिनुहुन्नथ्यो । उहाँको व्यक्तित्वबाट त यसै प्रभावित थिए नै उँहाले पछयाएको बाटो र उहाँको विचारबाट झनै बढि आकर्षित हुन पुगेको थिए । पेशाले उँहा निजामति कर्मचारी हुनुहुन्थ्यो ।

हाम्रो गाउँको एउटा सामान्य परिवारमा जन्मिएर उपसचिव बन्नु चानचुने कुरा थिएन । उँहा हाम्रो समाजको लागि उदाहरणिय व्यक्ति हुनुहुन्थ्यो । कसैले आफ्ना बच्चाहरुलाई सफलताको उदाहरण पेश गर्दा १ नम्बरमा उँहाकै नाम आउने गर्दथ्यो । मेरो लागि त हौसला र प्रेरणाको स्रोत नै उँहा हो भन्दा फरक पर्दैन ।

यो धर्तिमा साच्चिकै भगवान छन वा छैनन त्यो त मलाई थाहा छैन तर मेरो जिवनमा मेरो आमा वुवा पछिको साक्षात भगवान र मेरो जिन्दगिको आदरणिय गुरु उँहा नै हुनुहुन्थ्यो ।
मलाई निजामति सेवामा आउन प्रेरित गर्ने व्यक्ति उँहा नै हो । नविन दाई २०५७ सालमा सहलेखापाल पदमा नाम निकालेर निजामति सेवामा प्रवेश गर्दा मलाई लोकसेवा भनेको के हो सायद थाहा थिएन होला । उँहाको यात्रा त्यतिमै टुंगिएन । २०५९ सालमा राजस्वको नायब सुब्बा र २०६२ सालमा प्रशासन सेवाको शाखा अधिकृत पदमा सिफारिश भएपछि गाउँमा उहाँको चर्चा परिचर्चा शुरु भएको थियो । त्यतिवेला मेरो बाल मस्तिस्कले धेरै कुरा बुझ्न नसकेपनि उँहा ठुलो पदमा पुग्नुभएछ भन्ने चाँहि बोध भएको थियो । हाम्रो घर नजिकै भएको कारणले नविन दाई विदामा घर आएको बेला भेट हुन्थ्यो । मैले एस एल सि सकेदेखि नै उँहाले लोकसेवाको तयारी गर्नुपर्छ है भनेर बारम्बार भनिरहनुहुन्थ्यो । लोकसेवा आयोगको कार्यालय नजिकै छ तर यहाका मान्छेहरुलाई लोकसेवामा दरखास्त खुलेको थाहा नै हुदैन, बाहिर जिल्लाका मान्छेहरु आएर फर्म भर्छन र पास हुन्छन । यहिको मान्छे सिफारिश भएर आए हामिलाई काम गर्न कति सजह हुन्थ्यो तर कसैलाई वास्ता छैन । भन्नुहुन्थ्यो लोकसेवामा कसैको सिफारिश चल्दैन, जुनसुकै पावरले पनि काम गर्दैन, काम गर्छ त केवल मेहनत, क्षमता र लगनशिलताले । त्यसैले हामिजस्ता मान्छेहरुको लागि रोजगार र समाजसेवाको माध्यम सारथि भनेकै लोकसेवा नै हो । म उँहाको समाजमा रहेको इज्जत प्रतिष्ठा सम्मान बाट निकै प्रभावित थिए । त्यसैले मैले पनि निजामति पेशालाई नै अंगाल्ने प्रण गरे ।


मेरो नायव सुब्बाको लिखितमा नाम निस्केको खबर शुरुमा नविन दाईले नै दिनुभएको थियो । शुरुमा त विस्वासै लागेन । लोकसेवाको वेवसाइट खोलेर हेरेपछि बल्ल कन्फर्म भए । म त्यसपछि झन उँहासंग नजिक हुन थाले । इन्टरभ्यु अघि कार्यालय रोज्ने सिलसिलामा उँहासग मरामर्श गरे । उँहाले भन्नुभयो तिमि यहि पदमा रोकिनुहुन्न अधिकृतमा नाम निकाल्नुपर्छ । त्यसैले धेरै काम नहुने र पढन पाइने, पाठ्य सामाग्री सजिलै उपलब्ध हुने सुगम ठाउमा रहेको कार्यालय रोज्दा राम्रो हुन्छ ।

लोकसेवाले उपलब्ध गराएको कार्यालयको लिस्ट हेरिसकेपछि उँहाले भन्नुभयो । एउटा कुरा भनम भाई मैले लेखा, राजस्व र सामान्य प्रशासन क्षेत्रमा काम गरे तर न्याय क्षेत्रमा काम गर्न पाएन । न्यायमा काम गर्ने रहर थियो अव त्यो पुरा हुन सम्भव छैन । तिमि मलाई मेरो आफ्नै भाइजस्तो लाग्छ त्यसैले तिमिले मैले भनेको मान्छौ भने पुनरावेदन अदालत तुलसिपुर रोज काम पनि धेरै हुँदैन अर्को कुरा म आफै न्याय सेवामा काम गर्न नपाएपनि मेरो भाईले मेरो धोको पुरा गर्यो भनेर सन्तुष्ट हुनेछु । अनि अर्को कुरा समाजमा सम्पत्ति र पाखुराको बलमा सिधासाधा र निर्धालाई हेप्ने जुन प्रबृति छ । त्यसको लागि समेत गतिलो झापड हुनेछ तिम्रो रोजाइ किनकि अदालत जनताको अन्तिम भरोसाको केन्द्र हो भने अदालतमा काम गर्न पाउनु तिम्रो शौभाग्य । नभन्दै म पुनरावेदन अदालत तुलसिपुर (हालको उच्च अदालत) मा नै सिफारिश भए । म सिफारिश भएको दिन उँहाको अनुहारको चमक झनै बढेको थियो । त्यस दिन उँहाले भन्नुभएको थियो हाम्रो गाउँले २०५७ सालमा म निजामति सेवामा प्रवेश गरेपश्चात १४ बर्षपछि तिमिलाई निजामति कर्मचारीको रुपमा पाएको छ । मेरो छाति खुशिले चौडा भएको छ । तिमिले मेरो मार्गलाई पछ्याएका छौ । यति सानो उमेरमा नायब सुब्बाबाट सेवा प्रबेश गरेका छौ , तिम्रो यात्रा मेरो भन्दा निकै लामो छ । जागिर खानभन्दा जोगाउन गाह्रो छ, मान्छे बन्न जति गाह्रो छ बिग्रन कैयौ गुणा सजिलो, हरेक ठाउमा सुझबुझपुर्ण तवरले काम गर्नु तिमिलाई उच्चतम सफलताको शुभकामना ।


तुलसीपुर पुगेर पैसाको जोहो गरिसकेपछि भाउजुलाई पुनः फोन गरेर दाईको अवस्थावारे चासो राखे । आइसीयुमा हुनुहुन्छ भेटन जान दिएको छैन भन्ने खबर आयो । खासमा के भएको हो भनेर सोधे । के हुनु बाबु दशा लागेको हो स्थानीय तहमा नजानुस भनेर भनेको मान्नुभएन अहिले यो दुर्गती भोग्नुपर्यो । पापीहरुले फसाए नि मेरो सोझो लोग्नेलाई उनिहरुको कहिल्यै भलो नहोस भाउजुको आवाज चर्कियो । नआत्तिनुस भाउजु दाजुलाई केहि हुँदैन । पैसाको बन्दोबस्त भैसक्यो । म तुलसीपुरबाट हिडदैछु साझँसम्म काठमाण्डौ आइहाल्छु । म आएपछि सबै कुरा ठिक हुन्छ । भाउजुलाई ढाडस दिने प्रयास गरे । मलिन आवाजमा हुन्छ चाडै आउनुस बाबु भनेर फोन राख्नुभो ।
२ जोर कपडा झोलामा राखेर म सरासर घोराही रोड पुगे । एउटा हाइस भेटियो । गाडिमा बसे । गाडि पुर्वतिर लाग्यो । गाडिमा सबैजना आफ्नै तालमा मस्त थिए । कोहि बजिरहेको गितको धुनमा रमाइरहेका थिए । कोहि मोबाइलमा भुलिरहेका थिए । केहि नजिकैको साथिसंग गफ गर्न तल्लीन देखिन्थे । मेरो मन भने बिहानैदेखि अस्थिर थियो । तसर्थ यि केहि कुराले छुन सकिराखेको थिएन । मेरो मस्तिष्कभरी खाली नबिन दाई मात्र आइरहनुहुन्थ्यो ।


भाउजुले पापीहरुले फसाए भनेपछि मेरो ध्यान विगततर्फ मोडियो । साउनको दोस्रो हप्तातिर एकदिन साँझपख नविन दाइले फोन गर्नुभयो । त्यो दिन उँहाको प्रस्तुति अलिक भिन्दै थियो । सधै सकारात्मक सोच राख्ने उँहाले मलाई जटिल र असम्भव लाग्ने गरेका समस्याहरुपनि मुसुक्क हाँसेर सहजै सुल्झाइदिनुहुन्थ्यो । तर त्यो दिन उँहा विरक्त लाग्दो शैलिमा मसंग प्रस्तुत हुनुभयो । भाई स्थानिय तहमा कसरी काम गरेर बसेको छौ यार भनेर प्रश्न गर्नुभयो । म उहाँकै भरमा गृह छोडेर स्थानिय तहमा काम गर्न आएको मान्छे । उँहा त २ वर्षमा २ ओटा स्थानिय तहमा बिताइसक्नुभएको थियो । त्यसमा पनि दुबै ठाउँमा राम्रो काम गरेको भनेर जताततै उँहाको जयजयकार सुनिन्थ्यो । प्रमुख जिल्ला अधिकारीले समेत उँहासंग सल्लाह गरेर काम गर्नुहुन्छ भन्ने चर्चा थियो । अघिल्लो वर्ष उत्कृष्ट निजामति सेवा पुरस्कार जितेका उहाँलाई मैले त स्थानीय तहको विज्ञ नै ठान्दथे किनकि उँहाका सल्लाह सुझावहरु मैले काम गर्दा पर्ने हरेक समस्याको ओखति साबित हुने गर्दथे । शुरुमा त उँहालाई दारु लागेछकि जस्तो लाग्यो । कुरा गर्दै जादा पो थाहा भयो उँहा त गम्भीर समस्यामा परेर त्यसो भन्नुभएको रहेछ । दाजुप्रति अगाध माया र श्रद्धा जागेर आयो ।

यो पनि पढ्नुहोस्…

उँहाले समस्याको बेलिबेस्तार शुरु गर्नुभयो । असार महिनाको २८ गते उँहाको टेबलमा एउटा फाइल आइपुग्छ योजनाको अन्तिम भुक्तानिका लागि । योजना थियो सडक कालोपत्रे सम्बन्धि, श्रोत सांसद बिकास कोष, बजेट ५० लाख । नगरपालिकामा फागुनमा बजेट प्राप्त भएको रहेछ । बजेट प्राप्त हुनासाथ उपभोक्ता समिति गठन गरी सम्झौताका लागि समितिका पदाधिकारी उपस्थित भएछन । उपभोक्ता समितिबाट काम गर्नका लागि प्राबिधिक जटिलता हुने भएकोले ठेक्का मार्फत काम गर्नुपर्ने भनि शुरुमा दाजुले फिर्ता गर्नुभएछ । त्यसपछि ठेक्का मार्फत काम गर्दा ठेक्काको लागि १ महिना सुचना प्रकाशन गर्ने टाइम लाग्ने र समयमै काम सम्पन्न हुन नसक्ने भनि नगर कार्यपालिकाबाट उपभोक्ता समितिबाट योजना कार्यान्वयन गर्ने निर्णय गराई माननीय ज्यु, मेयर साप बाट अनुरोध भएपश्चात दाजुले बाध्य भएर उपभोक्ता समिति संग सम्झौता गर्नुभएको रहेछ । केहि दिनअघि पालिका स्तरिय अनुगमन समितिबाट अनुगमन गर्दा उक्त योजनाको कार्य आधामात्र सम्पन्न भएको हुँदा आधामात्र भुक्तानि हुन्छ भनेपछि उपभोक्ता समितिका मानिसहरुले योजनाको लागि आवस्यक पर्ने सम्पुर्ण सामाग्री खरिद गरिसकेको हुँदा योजनाको सम्पुर्ण रकम पाउनुपर्ने अन्यथा भुक्तानि नलिने भन्दै केहि दिनअघि भुक्तानि नलिएर हिडेका रहेछन । अहिले दाजुले फाइल खोलेर हेर्दा कन्टिन्जेन्सी बाहेक पुरै ४७५०००० को बिल उठेको रहेछ । त्यसपछि काम नभएको बिल भुक्तानि गर्न नसक्ने जवाफ दाजुले दिएपश्चात उपभोक्ता समितिको अध्यक्षले योजना पार्ने माननीय ज्युलाइ फोन लगाएर दाजुलाई दिनुभएछ । माननीय ज्युले यो बर्ष भुक्तानि नदिएमा बजेट फ्रिज जाने र नगरको बिकास पनि हुन नसक्ने र उपभोक्ता समितिले आवस्यक सामान अर्डर समेत गरिसकेको हुदाँ भुक्तानि गरिदिन अनुरोध गर्नुभएछ । भोलिपल्ट विहानै मेयरसापले मैले उक्त सडक यहि साउनभित्र कालोपत्रे गर्ने आश्वासन जनतालाई दिएसकेको, उपभोक्ता समितिलाई पनि घाटा लागेको र बाकि कामको जिम्मा आफुले लिने त्यसको लागि जे गर्न पनि तयार रहेको र तपाईलाई कुनै पनि अफ्ठेरो पर्न दिन्न भनेपनि दाजुले काम सकेपछि मात्र चेक दिने शर्तमा पुरै रकमको चेक काटेर राख्नुभएको रहेछ । दाजु असारको काम सकेर घरमा आएको समयमा मेयरसापको आदेशमा हाकिमसंग कुरा भैसकेको छ भनेर लेखालाई उक्त चेक समितिलाई हस्तान्तरण गर्न लगाइएछ । चेक बुझेको २ दिनपछि उपभोक्ता समितिको अध्यक्ष फरार भएछन । उपभोक्ता समितिका अध्यक्ष हराएको १ हप्तापछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट पत्र आएछ । त्यसैदिन दाजुले फोन गर्नुभएको रहेछ ।


अख्तियारको १३ पाने भरेदेखि नै दाजुको अनुहारको चमक हराएको थियो । जागिरबाट निलम्बनमा परेपछि उँहाको शिर कहिल्यै ठाडो देखेको थिएन । खालि एकान्तमा बस्न खोज्नुहुन्थ्यो, एकोहोरो जस्तै हुनुभएको थियो । गाउँघरमा डिप्रेशनको औषधी खानुहुन्छ भन्ने हल्ला थियो । यस्तै कुरा मनमा सोच्दासोच्दै गाडिमै निदाएछु । राति ११ः०० बजे दाई तपाई कलंकी झर्ने भनेको होइन भनेर छेउमै रहेको भाईले बोलाएपछि झसंग भए । गाडिबाट झरेर नँया बानेश्वर जानका लागि ट्याक्सी चढे । करिब १२ः०० बजे निजामति अस्पतालको आई.सी.यु. कक्ष अगाडी पुगे । मिना भाउजु र उँहाको भाई (महेश सोल्टी) त्यहि कुरिराख्नुभएको रहेछ । भाउजु निकै थकित देखिनुहुन्थ्यो । मलाई देखेर थोरै राहको महसुस गर्नुभयो सायद । महेश सोल्टीले र मैले सल्लाह गरेर भाउजुलाई रेस्ट गर्न भन्यौ । उहाँ होटेलतिर लाग्नुभो ।

भाउजु गएपछि मैले महेश सोल्टीसंग घटनाको बारेमा चासो राखे । त्यो दिन उँहापनि संगै हुनुहुदो रहेछ । विशेष अदालतको इजलास नं. २ । मुद्दा को पेशी नं. ६ । दिउँसो २ बजे पालो आएछ । शुरुमा सरकारी वकिलको बहस । सरकारी वकिलले बहस शुरु गरेछन । ५०० मिटर बाटो कालोपत्रे गर्नुपर्नेमा जम्मा २०० मिटर मात्र बाटो कालोपत्रे गरी फाइल मिलाएर भुक्तानि गरेको देखिन्छ श्रीमान । । यो मुद्दामा प्रतिवादीहरु प्रमुख प्रशासकीय अधिकृत लगायत सबै जनाको मिलेमतो पुष्टि गर्ने यथेष्ठ प्रमाण छन । योजना अनुगमन समितिले आधामात्र काम भएको भनि प्रतिवेदन पेश गर्दागर्दै प्राविधिक कर्मचारीलाई साथमा लिएर प्रमुख प्रशासकीय अधिकृतले पुरै काम भएको बिल उठाई भुक्तानि दिएको र भुक्तानि दिने कार्यमा लेखा र योजना शाखाका कर्मचारीको समेत संलग्नता देखिएको हुँदा उपभोक्ता समितिका पदाधिकारीहरु सहित सम्पुर्ण प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हदैसम्मको कारवाहि होस भन्ने माग गर्दछु । सरकारी वकिलको बहसपश्चान नबिन दाईले इजलासमा आफ्ना कुरा राख्ने अनुमति माग्नुभएछ ।

न्यायाधिशको अनुमति पश्चात नविन दाई बोल्नुभएछ मैले सिंगो नगरपालिकाको विकासका लागि यत्रो मेहनत र तपस्याले प्राप्त गरेको जागिरलाई दाउमा राखेर समितिको विश्वासमा परी तत्कालै काम गर्ने शर्तमा योजनाको सम्पुर्ण रकम भुक्तानि गरेको हुँ । मैले सरकारको सिन्दुर पहिरिएर निजामति सेवामा प्रवेश गरेपश्चात आजसम्म कसैबाट एक रुँपैया लिएको पुष्टि भएमा म खुला मञ्चमा झुण्डिएर मर्न तयार छु । घरमा रहेका अनेकौ समस्या र अनेकौ आश्वासनका बाबजुद पनि मैले आफुलाई बेचिन भने के म उपभोक्ता समिति संग र्याल काढेर बसेहुँला श्रीमान । यँहाहरुले मेरो घरायसी अवस्था हेर्न सक्नुहुन्छ । सम्पत्ति विवरण चेक गर्न सक्नुहुन्छ । आम्दानीको श्रोत र खर्चको विवरण बुझ्न सक्नुहुन्छ । मैले छोरालाई पढाउनका लागि पुर्खौली सम्पत्ति समेत बिक्रि गरेको छु, घरबाट पानि चुहिने हुदाँ समेत मर्मत गर्न सकेको छैन । खाएको विष पो लाग्छ त श्रीमान नखाएको विषको नाटक कसरी गरु ? त्यसपछि उपभोक्ता समितिको सचिव कहाँ पुगेर दुई हात जोडेर बिन्ति बिसाउनुभएछ जनताको सेवकले जनताको हितको लागि काम गर्दा यस्तो नियति भोग्नुपर्छ भने आम कर्मचारीले कसरी उत्प्रेरित भएर काम गर्लान ? सचिब जी तपाइलाई त सबै कुरा थाहा छ नि इमान धर्म सम्झेर यथार्थ कुरा सम्मानीत इजलास समक्ष बताइदिनुस मलाई यो चक्रव्युहबाट पार लगाइदिनुस । यति भनेर हात जोडेर सचिवको पाउ छुन खोज्दा एक्कासी भुइमा ढलेर अचेत हुनुभएको रहेछ ।


हामी कुरेर बसिराखेका थियौ विहान करि १२ः३५ बजेतिर केहि डाक्टरको टोलि आई.सी.यु. तिर प्रबेश गर्यो । हामि उभिएर रेहिराख्यौ । त्यसको केहि मिनेटपछि उक्त टोलि बाहिरियो । टोलिका प्रमुख सिनियर डाक्टरले हामिलाई नियालिसकेपछि बिस्तारै बोले हामिले सक्दो प्रयास गर्यौ केश एकदमै जटिल रहेछ हामिले तपाईको मान्छेलाई बचाउन सकेनौ सरी । यति भनेर डाक्टरको टोलि आफ्नो बाटो लाग्यो । मैले आफुलाई सम्हाल्नै सकिन । मलाई कर्मचारी हुनुमा पहिलोपटक ठुलो लज्जाबोध भयो । आखाँहरु रसाउन थाले । शरीरमा चिरचिर पसिना आयो । अनायासै चिच्याउन थालेछु इमान्दार कर्तब्यनिष्ट राष्ट्रसेवकको मृत शरीरमा टेकेर देशलाई लुट्न खोज्नहरुको बाच्दा सम्म भलो हुनेछैन र नहोस पनि । 

लेखमा प्रस्तुत गरिएका पात्रको नाम काल्पनिक हो ।

लेखक सिद्ध कुमाख गाँउपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृत हुनुहन्छ ।

लेखकको वारेमा थप जानकारी लिन तलको लिंकमा क्लिक गर्नुहोस ।

https://www.facebook.com/chintamani.regmi1

लेखकका थप लेखहरु पढ्न तलका लिंकहरुमा क्लिक गर्नुहोस् ।