रअ प्रमुखको भ्रमणले रिजल्ट ल्याइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

मङि्सर १९, २०७७


मंसिर १९, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयललाई भेटेको विषयमा संसदीय समितिमा छलफल भएको छ। संसदीय समितिको बैठकमा नेकपाकै सांसद भीम रावल र प्रतिपक्षी दलका सांसदहरूले प्रश्न गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिएका छन्। सांसदहरू पुरानै कुरामा अडेर बसेको भन्दै मन्त्री ज्ञवालीले ब्यंग्य गरे।

सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू, परराष्ट्रमन्त्री ज्ञवालीले भने, उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन। प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आउनुभएको हो। गोयलको भ्रमण पारदर्शी नभएको भन्ने सांसदहरुको जिज्ञासाको पनि मन्त्री ज्ञवालीले जवाफ दिएका छन्। उनले प्रतिप्रश्न गरे, कूटनीतिमा यस्ता खालको संयन्त्रहरू, माध्यमहरू प्रयोग हुन्छन् कि हुन्नन् माननीयज्यू

गोयलको भ्रमणले दुई देशको सम्बन्ध सुधार भएको मन्त्री ज्ञवालीको भनाइ थियो। उनले भने, कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्। नाकाबन्दी भएको वेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन ररु त्यसकारण यसलाई ठूलो विषय बनाउनु पर्दैन। रअ प्रमुख गोयलको भ्रमणको रिजल्ट आइसकेको मन्त्री ज्ञवालीको भनाइ थियो। उनकै भ्रमणको प्रतिफल स्वरुप भारतीय सेनाध्यक्ष एमएम नरवणे, विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको भ्रमण भएको उनले बताए।