स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने कार्य स्वीकार्य हुँदैन : प्रधानमन्त्री

मङि्सर २५, २०७७


मङ्सिर २५, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचनाहरू ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने बताएका हुन्। विश्व मानव अधिकार दिवसका अवसरमा बिहीबार शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्ता असामाजिक र अमानवीय कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन्।

प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्ग दर्शक हुने बताएका छन्। उनले भने, आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई नेपाल सरकार सदैव उच्च सम्मान गर्दछ,

त्यस्तै लोकतन्त्रको अपरिहार्य अंगका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चार माध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेशा स्वागत गर्ने भन्दै आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सैह्य नहुने उनले स्पष्ट पारे।