आकाश र सलोनको ‘हिड्दा हिड्दै’ को छायांकन सुरु

पुष १४, २०७७


घोषणा भएको केही महिनापछि चलचित्र ‘हिड्दा हिड्दै’ को छायांकन सुरु गरिएको छ । चलचित्रको छायांकन ललितपुरको गोदावरीबाट सुरु भएको हो । छायांकनको पहिलो दिन नायक सलोन बस्नेत र कलाकार सानिया कानविचको प्रेमका दृश्यहरु खिचिएको निर्माणपक्षले बताएको छ ।

सुशिल पंगेनीको प्रस्तुतीमा तयार भैरहेको चलचित्रमा मिलन आलेमगरको निर्देशन छ । चलचित्रमा नायक आकाश श्रेष्ठ, सलोन बस्नेत, नव कलाकार रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशिल पंगेनी इन्टरटेन्मेन्टले निर्माण गरिरहेको चलचित्रको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ छन् । महादेव शाह सह–निर्माता रहेको चलचित्र काठमाण्डौ र गाइघाटमा खिचिने छ ।

सुमनकुमार तण्डुकारको छायांकन रहेको चलचित्रका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी रहनेछ । देव महर्जनको एक्सन रहने चलचित्रमा मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । चलचित्रको छायांकन ३५ दिनमा सक्ने योजना निर्माणपक्षको छ ।