निखिलको समबोधी अभियान

पुष १६, २०७७


अभिनेता निखिल उप्रेतीको परिचय फिल्म क्षेत्रमा ‘एक्सन नायक’ को रुपमा छ । बलिउडमा लामो समय ‘स्टन्ट म्यान’ को रुपमा काम गरेपछि फिल्म ‘पिँजडा’ बाट अभिनय करिअर सुरु गरेका उनले एक समय नेपाली फिल्म क्षेत्रमा आफ्नो बलियो दबदबा कायम गरेका थिए । फिल्म चल्न उनको नाम नै काफी मानिन्थ्यो । तर, पछिल्लो समय उनी अभिनयमा केही सुस्ताएका छन् ।

पछिल्लो रिलिज फिल्म ‘भिलेन’ पछि उनले कुनै फिल्ममा काम गरेका छैनन् । लकडाउनभन्दा अगाडि उनी आफ्नै निर्माण, निर्देशन र अभिनयमा फिल्म ‘आयो भैरव’ बनाउने तयारीमा थिए । तर, कोरोनाका कारण फिल्मको निर्माण तत्काललाई स्थगित गरिएको छ । यो फिल्मका लागि उनले आफ्नो रुपरंगमा समेत परिवर्तन गरेका छन् । उनले दाह्री र कपाल निकै बढाएका छन् ।

फिल्ममा प्रायः एंग्री योङ म्यानका रूपमा देखिने गरेका निखिललाई अचेल अन्तर्वार्ताहरुमा जीवन र जगतबारे गहन ढंगले ब्याख्या र विश्लेषण गरेको देख्न पाइन्छ । उनले हरेक विषयमा तर्कसहित आफ्ना गहकिला विचार राख्ने गरेका छन् । उनमा आएको यसप्रकारको बदलावले धेरैलाई आश्चर्यमा पारेको छ । कतिपयले उनलाई ‘दार्शनिक अभिनेता’ को समेत संज्ञा दिएका छन् ।

निखिल भने आफूमा पहिल्यैदेखि आध्यात्मिक चेत रहेको बताउँछन् । पर्दाको नायकको छविले आफ्नो यो पक्ष बाहिर नआएको उनको भनाई छ । फिल्ममा भ्याइनभ्याइ हुँदा पनि उनले दर्शन, धर्म, समाज र राजनीतिका पुस्तकहरु धेरै पढ्थे । यसले उनको बौद्धिकतालाई निखार्न मद्दत गर्‍यो । अहिले उनी आफूले स्वअध्ययन र चिन्तनबाट सिकेका कुरा अरुलाई बाँड्ने अभियानमा छन् ।

यही उद्येश्यसहित उनले एक वर्ष अगाडि समबोधी फाउन्डेसन स्थापना गरेका थिए । कोरोनाका कारण समबोधी अभियान सुरु गर्न नसकेका उनले आइतवार बुटवलबाट ‘समबोधी-आरम्भ’ गरेका छन् । भैरहवामा पनि यो कार्यक्रम सम्पन्न भइसकेको छ । दुवै ठाउँको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको निखिलले बताएका छन् । यो अभियानलाई उनी विदेशमा पनि लैजादैछन् ।

समबोधी अभियानमार्फत विशेषगरि युवाहरुमा आत्मज्ञान जगाउनु रहेको निखिलको भनाई छ । यो अभियानले युवाहरुलाई आफैंलाई चिन्न सघाउनुका साथै कुनै पनि चिजमा वस्तुगत विश्लेषण गर्न क्षमतावान बनाउने उनी बताउँछन् । उनले आफूसँग बृद्धबृद्धहरुका लागि पनि बेग्लै प्याकेज रहेको बताएका छन् । उनको यो अभियानमा श्रीमती सञ्चिता लुईंटेलले साथ दिएकी छन् ।