कहिले बन्छ ‘अल्लारे २’ ?

पुष १६, २०७७


कोरोनाका कारण ९ महिनासम्म ठप्प रहेको फिल्म निर्माण मंसिर अन्तिम साताबाट सरकारले खुल्ला गरेको छ । सरकारले फिल्म छायांकन अनुमति नदिँदा नयाँ फिल्मको घोषणा गर्न हानाथाप गरेका निर्मातारनिर्देशक अहिले फिल्म निर्माणका लागि कोही अगाडि सरेका छैनन् । प्रायः स्थिति सामान्य भएपछि छायांकन थाल्ने तयारीमा छन् । केही फिल्मको भने छायांकन भइरहेको छ ।

निर्देशक तथा निर्माता अशोक शर्माले गत वर्षको दशैंमा ‘रातो टीका निधारमा’ प्रदर्शनसँगै फिल्म ‘अल्लारे २’ घोषणा गरेका थिए । फिल्मको प्रदर्शन यस वर्षको दशैंलाई तोकिएको थियो । तर, अहिलेसम्म फिल्म निर्माणको समेत सुरसार भएको छैन । फिल्मको छायांकन सुरु हुन अझै एक वर्ष लाग्ने निर्देशक शर्माले बताएका छन् । उनका अनुसार, अहिले स्क्रिप्टमा काम भइरहेको छ ।

‘रातो टीका निधारमा’ बाट छोरा अंकितलाई अभिनेताको रुपमा डेब्यू गराएका निर्देशक शर्मा फिल्म ‘अल्लारे २’ बाट छोरी कृतिलाई निर्देशनको जिम्मेवारी सुम्पिने तयारीमा छन् । यद्यपि, यसबारेमा उनले कुनै जानकारी दिएका छैनन् । कृतिले अमेरिकमा फिल्म मेकिङमा ब्याचलर गरेर नेपाल फर्किएकी हुन् । ‘रातो टिका निधारमा’ मा उनले पितालाई निर्देशनमा सघाएकी थिइन् ।

अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ मा पनि कृतिले सहायक निर्देशकको रुपमा काम गरेकी छन् । ‘अल्लारे २’ का लागि कलाकारको टुंगो लागेको छैन । सन् १९९८ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘अल्लारे’ मा राजेश हमाल र करिश्मा मानन्धर प्रमुख भूमिकामा थिए । यो फिल्मको गीत ‘रातो टिका निधारमा’ अहिले पनि दशैंको छेकोमा निकै घन्किने गरेको छ ।