प्रदीप र स्वस्तिमाको सहकार्य फिल्ममा कहिले ?

पुष २३, २०७७


शहरिया युवापुस्तामा राम्रो फ्यान फलोइंग भएका अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्कालाई एकसाथ सिल्भर स्क्रिनमा हेर्न चाहने दर्शकको संख्या ठूलो छ । फिल्म ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’ बोलको गीतमा पहिलो पटक स्क्रिन शेयर गरेका उनीहरुले केही कमर्शियल विज्ञापनमा पनि काम गरेका छन् । तर, फिल्ममा भने यो जोडीको सहकार्य हुन सकेको छैन ।

फिल्म ‘प्रेमगीत ३’ मा प्रदीपको अपोजिटका लागि स्वस्तिमालाई अफर गरिएको चर्चा चलेको थियो । स्वस्तिमाले पनि घुमाउरो शैलीमा यो फिल्मबाट प्रस्ताव आएको कुरा स्वीकार गरेकी थिइन् । तर, पछि यसमा प्रदीपको जोडी क्रिस्टिना गुरुङसँग बाँधियो । प्रदीप र स्वस्तिमालाई एउटै फिल्ममा लिन केही निर्माताले प्रयास पनि गरेका छन् तर अहिलेसम्म त्यो सम्भव हुन सकेको छैन ।

गत वर्ष प्रदीप र स्वस्तिमा टिभिएस स्कूटरको ब्रान्ड एम्बसेडरमा नियुक्त भएका थिए । यसको फोटोसुट र विभिन्न प्रचारात्मक कार्यक्रममा उनीहरुबीच भेटघाट भइरहेको हुन्छ । बुधवार स्वस्तिमाले प्रदीपसँग खिचेको एक तस्विर आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी छन् । यो तस्विरले उनीहरुको नयाँ फिल्ममा सहकार्य हुन लागेको त होइन भन्ने कौतुहलता धेरैमा जागेको छ ।

तर, उनीहरुको फिल्मका लागि भने भेट भएको होइन । बुधवार प्रदीप र स्वस्तिमाले टिभिएस स्कूटरको फोटोसुट गरिरहेका छन् । यही शिलशिलामा यी दुईको भेट भएको हो । गीत र विज्ञापनमा एकसाथ काम गरेका कारण उनीहरुबीच राम्रो बोन्डिङ बनेको छ । तर, यो जोडीलाई ठूलो पर्दामा हेर्ने दर्शकहरुको प्रतिक्षा भने टुंगिन सकेको छैन । यो प्रतिक्षा अझै कति लम्बिने हो कुन्नी ?