प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन नागरिक समाजका अगुवा पाण्डे र पहाडीको आह्वान

पुष २६, २०७७


पुस २६, प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले आह्वान गरेका छन् । आज पाण्डे र पहाडीले संयुक्त प्रेस विज्ञप्ति जारी गरि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन्। उनीहरुले यसका विरुद्ध आन्दोलनमा उत्रिन सबैलाई आह्वान गरेका छन्।

उनीहरुले २०६३६३ को आन्दोलनका उपलब्धिको रक्षाका लागि पनि आन्दोलनमा उत्रिनुपर्ने बताएका छन्। पाण्डे र पहाडीले विज्ञप्तिमा भनेका छन्, ‘त्यही जनआन्दोलनको बलमा राजतन्त्र पहिले निलम्बन र पछि उन्मूलन भएको हो । त्यही जनआन्दोलनको जनादेशअनुरूप संविधानसभाको निर्वाचन भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो।

राजनीतिक दलहरुका कमजोरीले जनआन्दोलनका उपलब्ध गुम्ने खतरा बढेको जनाएका छन्। ‘राजनीतिलाई विकासमुखी, राज्य संयन्त्रलाई जनउत्तरदायी, सेवामुखी र समग्र समाजलाई उद्यममुखी बनाउन नसक्नु सरकार र दलहरूको अक्षम्य कमजोरी हुन गयो। सत्तासीनहरूको यस्तै कमजोरीका कारण सुषुप्त अवस्थामा रहेका परिवर्तन विरोधीहरूको मनोबल बढ्दै गइरहेको अवस्थामा जननिर्वाचित प्रतिनिधिसभाको असंवैधानिक विघटनले परिवर्तनविरोधीहरू जागृत भएको र मोर्चाबन्दीतर्फ अग्रसर भएको देखिँदै छ, उनीहरुले भनेका छन्।