निर्वाचन कार्यक्रम रोक्न भन्दै प्रचण्ड र नेपाल आयोगमा

पुष २७, २०७७


पुस २७, निर्वाचन कार्यक्रम तत्काल अघि नबढाउन माग गर्दै नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोगमा पुगेका छन् । आज दिउसो अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेकपा नेताहरु निर्वाचन आयोग पुगेका हुन्। उनीहरु आयोगका पदाधिकारीसँग निर्वाचन कार्यक्रमबारे छलफल गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदातलमा विचाराधीन रहेकाले अहिले निर्वाचन कार्यक्रम अघि नबढाउन उनीहरुले आग्रह गरेका छन्। सर्वोच्चको फैसला नआउँदासम्म सबै कार्यक्रम यथावस्तामा राख्न उनीहरुले आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेकी थिइन्। यसका विरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट परेका छन्। सबै रिटमाथि संवैधानिक इजलासमा सुनाइ चल्दै आएको छ ।


यसको टुंगो नलाग्दै निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको थियो । यसलाई रोक्न आग्रह गर्न प्रचण्ड र नेपालसँगै नेकपा नेताहरु राजेन्द्र पाण्डे, मुक्ति प्रधान, सुरेन्द्र पाण्डे, रामनारायण बिडारी, कृष्णभक्त पोखरेल निवाचन आयोग पुगेका हुन् ।