संवैधानिक इजलासले संविधानका सबै धारा व्याख्या गर्छ : प्रधानन्यायाधीश राणा

पुष २९, २०७७


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासले संविधानका सम्पूर्ण धाराका व्याख्या गर्न सक्ने बताएका छन् । संवैधानिक इजलासमा बृहत् पूर्ण इजलासको माग गर्ने कानुन व्यवसायीलाई उनले संविधानका सबै व्याख्या संवैधानिक इजलासले नै गर्ने जवाफ दिएका हुन् ।

संवैधानिक इजलास विगतको विशेष इजलासजस्तै भएको र यसले नै संविधानको सम्पूर्ण व्याख्या गर्ने उनको तर्क छ । हिजोको विशेष इजलासले जे गर्थ्यो, संवैधानिक इजलासले त्यही गर्छ । हामी सोहीबमोजिम रिट निवेदन हेरिरहेका छौँ । संवैधानिक इजलासमा पठाउने निर्णयमा अन्य धारा उल्लेख भएनन् भन्ने तपाईंहरूको तर्क छ ।

यस इजलासमा संविधानका सम्पूर्ण धाराका व्याख्या हुन्छ, उनले भने । प्रतिनिधिसभा विघटन विरूद्धका १३ वटा रिट निवेदन सर्वोच्चमा परेका छन् । ती रिटमाथि बृहत् पूर्ण इजलासमा छलफल हुनुपर्ने माग निवेदकतर्फका अधिवक्ताहरूले गरेका छन्। सरकारी पक्ष भने मुद्दा बृहत् पूर्ण इजलासमा लैजाने तर्कप्रति असहमत देखिएको छ ।