कीर्तिमानी गीतकारको ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

माघ ०३, २०७७


काठमाडौं,
माघ २ ।

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ । राजन तिमिल्सिनाको सङ्गीत, मेलिना राई र सङ्गीतकार राजनकै स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रज्ज्वलराज शाक्यको निर्देशन र माधव श्रेष्ठको सह–निर्देशक रहेको गीतको भिडियोमा अञ्जु सुनार र सन्दिप सुवेदीको अभिनय छ । अखिल बास्तोलाको सिनेम्याटोग्राफी र हिम सागर बमको सम्पादन रहेको यस भिडियोलाई निर्देशकले रोमाण्टिक तथा मनोरञ्जक बनाउने भरपुर प्रयास गरेका छन् ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा. उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका छन् ।

उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान, भरिया सम्बन्धी गीत लगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै उनका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् ।

सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।