‘मनसँग मन’ गीतमा पुष्प-वर्षा र पल-पूजाको ठुम्का

माघ ०४, २०७७


अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी स्टारर फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, विपिन किरणको शब्द र दीपक शर्माको संगीत रहेको छ । सौरभ लामाले खिचेको गीतको भिडियोको सम्पादन अर्जुन जिसीले गरेका हुन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पुष्प र वर्षासँगै अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर छन् । राजधानीमा आकर्षक सेट तयार गरेर खिचिएको गीतमा पुष्पसँग वर्षा र पलसँग पूजाको केमेस्ट्री सुहाएको देखिन्छ । यो गीतको केही दिनअघि मात्र छायांकन गरिएको थियो । फिल्ममा पल र पूजा गीतमा मात्र देखिनेछन् ।

निर्माण टिमले गीत सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । यो फिल्म आउँदो चैत २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । कैलाश राई निर्देशित फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दालगायतको पनि अभिनय रहेको छ । ‘चालबाज’ नाममा छायांकन भएको फिल्मको पछि नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा अरुण तामाङले निर्माण गरेको फिल्मको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् भने द्वन्द्व निर्देशन सन्तोष खवासको छ । सस्पेन्स लभस्टोरी कथामा निर्माण भएको फिल्मको अधिकांश छायांकन दार्जिलिङ आसपासमा भएको हो । पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गरेका पुष्प र वर्षा फिल्मलाई लिएर उत्साहित छन् ।