अनमोललाई आधा दर्जन फिल्मको अफर

माघ ०६, २०७७


चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांकन सकेर बसेका नायक अनमोल केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् । यो चलचित्रका लागि अनमोल हरेक दिन जीम धाइरहेका छन् । अनमोलले भने–‘शरीर बनाउने भनेर ‘कृ’ चलचित्रको जस्तो होइन । तर, पर्दामा केही फरक देखिने कोशिश गर्दैछु ।

अनमोलले आफ्नै होम प्रोडक्शनको चलचित्रको मात्र होइन, बाहिरी ब्यानरका चलचित्रको स्क्रिप्ट पनि पढिरहेका छन् । अनमोलले भने–‘आधा दर्जन चलचित्रको अफर आएको छ । यसमध्ये २ वटा चलचित्रको कथा मन परेको छ । तर, सबैले मलाई वान लाइन मात्रै सुनाउनु भएको छ । पूर्ण स्क्रिप्ट आएपछि काम गर्ने वा नगर्ने पक्का हुन्छ । अनमोलले यो बर्ष आफ्नो कुनै पनि चलचित्र दर्शकमाझ आउन नसकेपनि अर्को बर्ष भने ३ वटा चलचित्र रिलिज हुने संकेत गरे ।

उनले भने–‘अर्को बर्ष ३ वटा चलचित्र रिलिज हुन्छ होला । ‘ए मेरो हजुर ४, पारस’ र अर्को एक चलचित्र रिलिज हुने संभावना छ ।अनमोलले आफूलाई भिन्न शैलीमा प्रस्तुत गर्न सक्ने स्क्रिप्टको खोजीमा आफू रहेको पनि सुनाए । उनले भने–‘मलाई मन परेका २ कथाले मलाई फरक रुपमा प्रस्तुत गर्ने अपेक्षा गरेको छु । अनमोलले चलचित्र साइन नगरी मिडियामा सार्वजनिक गर्दा पछि अप्ठ्यारो पर्न सक्ने भएकाले पनि केही समय चलचित्रको नाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।