कोरोना संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु

माघ ०६, २०७७


माघ ६, कोरोना संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमा मृत्यु भएको हो। उनमा पुस २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मधुमेह, थाइरोइड, प्रेसर र मानसिक रोगको औषधि सेवन गरिरहेका पुरुषको सोमबार राति मृत्यु भएको हो ।

त्यस्तै, भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका ४९ वर्षीय पुरुषको मृत्यु भएको छ। पुस २८ गते कोरोना संक्रमण पुष्टि भएको उनी होम आइसोलेसनमा बस्दै आएका थिए। सोमबार बिहान अचानक बेहोस भएपछि अस्पताल लगिएको उनको अस्पताल भर्ना भएको १० मिनेटमै मृत्यु भएको अस्पतालले जनाएको छ ।