साइन गरेर फिल्म छाड्ने निर्माणपक्ष दोषी की कलाकारको अपरिपक्कता ?

माघ १४, २०७७


नायिका वर्षा सिवाकोटीले साइन गरिसकेको चलचित्र ‘सुदुर’ छाड्ने निर्णय गरिन् । उनले करिब डेढ बर्ष अगाडि यो चलचित्र साइन गरेकी थिइन् । वर्षाले चलचित्र छाडिसकेपछि निर्माणपक्ष भने यतिबेला नयाँ नायिकाको खोजीमा लागेको छ । उसो त, वर्षाले चलचित्र साइन गरिसकेपछि छाडेको यो पहिलो पटक भने होइन ।

नायिका सिवाकोटीले यस अगाडि चलचित्र ‘रानीमहल, गोपी, मेरो पैसा खोई’मा काम गर्ने पक्का गरेर पछि छाडेकी थिइन् । यसअर्थमा, वर्षा चलचित्र छाड्ने कुरामा अगाडि छिन् । वर्षाले छाडेका यी तिन चलचित्रमध्ये ‘गोपी र मेरो पैसा खोई’ बक्स अफिसमा सुपर फ्लप भएका थिए । ‘रानीमहल’ नामक चलचित्रको भने छायांकन नै पूर्ण भएको छैन ।

कलाकारहरुले चलचित्र साइन गरिसकेपछि छाड्नुका विभिन्न कारण छन् । कतिपय अवस्थामा उनीहरुले चलचित्रको छायांकन ढिलो भएकाले छाड्ने गरेका छन् भने कतिपय अवस्थामा साइन गरिसकेपछि भूमिका चित्त नवुझेको भन्दै छाड्ने गरेका छन् । यस्तै, चलचित्रको कथा सुनाउने बेलामा निर्माणपक्षले एउटा सुनाएको तर पछि घटनाक्रम अन्तै मोडिएपछि पनि कलाकारले चलचित्र छाड्ने गरेका छन् ।

उसो त, चलचित्र छाड्ने कुरामा वर्षा मात्र एक्लो कलाकार होइनन् । नेपाली चलचित्रका धेरै कलाकारले साइन गरेर पनि चलचित्र छाडेका उदाहरण छन् । यसमा नायक अनमोल केसी पनि अगाडि नै देखिन्छन् । उनले, निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने पक्का भएको चलचित्र ‘ब्याचलर बन्टी’ साइन गरेर छाडे । अनमोलले समय अभाव देखाउँदै चलचित्र छाडेको बताएका थिए । यस्तै, अनमोलले चलचित्र ‘धुपौरो’ पनि छाडेका थिए ।

साम्तेन भुटियाको निर्देशनमा बन्ने पक्का भएको चलचित्रका लागि अनमोल लोकेशन हेर्न पनि पुगेका थिए । तर, उनले पछि विविध कारण देखाउँदै चलचित्र छाडे । अनमोलले चलचित्र छाडेपछि निर्माणपक्ष प्रहरीसमक्ष पुगेको थियो । नायक पल शाहले पनि चलचित्र ‘रेड वाइन’ छाडे । रमेश एम के पौडेलको निर्देशनमा तयार हुने पक्का भएको चलचित्र अन्तिम समयमा आएर पलले छाडेपछि नायक पुष्प खड्काले काम गरेका छन् । अहिले यो चलचित्रको नाम परिवर्तन गरेर ‘तिम्रो मेरो साथ’ राखिएको छ ।

नायक आकाश श्रेष्ठले चलचित्र ‘विर विक्रम २’ साइन गरेर पनि छाडे । उनले, आफ्नो घरयासी कारण देखाउँदै चलचित्र छाडेका थिए । तर, आकाशले चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा काम गर्नका लागि यो चलचित्र छाडेको चर्चा चलचित्र बजारमा चल्ने गरेको छ । आकाशले चलचित्र छाडेपछि पल शाहले यो चलचित्रमा काम गरेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा थुप्रै कलाकार यस्ता छन्, जसले चलचित्रमा काम गर्ने पक्का गरेर पछि विभिन्न कारण देखाउँदै चलचित्र छाड्ने गरेका छन् । यसमा कतिपय अवस्थामा निर्माणपक्ष पनि दोषी देखिएको छ भने कतिपय अवस्थामा कलाकारको अपरिपक्कता पनि देखिने गरेको छ ।