११ दिनमै क्यूएफएक्सले हटायो शिव श्रेष्ठको फिल्म

माघ १४, २०७७


कोरोना भाइरसका कारण ९ महिनासम्म बन्द रहेका सिनेमा हल गएको पुष १० गते सञ्चालनमा आएका छन् । सरकारले वेवास्था गरेको भन्दै हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोल्ने निर्णय गरेका थिए । अन्ततः सरकारले पनि पुष अन्तिममा कानुनी रुपमा सिनेमा हल सञ्चालनको अनुमति दियो । तर, ९ महिनापछि सिनेमा हल खुले पनि दर्शक उपस्थिति सुखद छैन ।

निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नभएपछि ‘आमा र सेन्टी भाइरस’ लाई रि(रिलिज गर्दै सिनेमा हल खोलिएको थियो । तर, पुरानो फिल्म हेर्न दर्शकले महंगो टिकट काटेर सिनेमा हलसम्म जाने जाँगर चलाएनन् । हलमा दर्शक तान्न नयाँ फिल्म नै चाहिने देखिएपछि अभिनेता शिव श्रेष्ठले आफू निर्मित तथा अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज गर्ने घोषणा गरे ।

नाम चलेका कलाकारहरुको ठूलो जत्था रहेका कारण फिल्मले हलमा दर्शक फर्काउने अपेक्षा गरिएको थियो । तर, छायांकन नै पूरा नभइ प्रदर्शन गरिएको फिल्मले प्रदर्शनको पहिलो दिनबाटै दर्शकको खडेरी भोग्यो । कमजोर कथावस्तु र प्रस्तुतिका कारण फिल्म हेर्ने दर्शक नराम्रोसँग विच्किएका छन् । यो फिल्म नचल्दा अरु निर्माता समेत फिल्म प्रदर्शन गर्न तर्सिएको अवस्था छ ।

सिनेमा हल खुलेपछि नयाँ फिल्म नहुँदा दुई हप्ता पुरानै फिल्म ‘आमा र सेन्टी भाइरस’ चलाएको नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शिव श्रेष्ठको फिल्म भने रिलिजको ११ दिनमै हटाएको छ । आइतवारसम्म प्रदर्शन भएको फिल्म सोमवारबाट हटाइएको हो । अहिले क्यूएफएक्स चेनमा ‘मास्टर, मोनस्टर हन्टर र द इनभिजिबल म्यान’ मात्र प्रदर्शनरत छन् ।

फिल्म हेर्ने दर्शक नभएपछि क्यूएफएक्सले ‘एउटा यस्तो प्रेम कहानी’ को शो हटाएको बुझिएको छ । सुनधारामा रहेको सिडिसी सिनेमाज्ले पनि यो फिल्मको शो हटाएको छ । विग मुभिज, वान सिनेमाज्, विएसआर मुभिज, एफक्यूब लगायतका मल्टीप्लेक्स हलले भने फिल्मलाई दोस्रो हप्तामा एक(एक सोज बाँडेका छन् । सिंगल थिएटरमा पनि फिल्मको अवस्था उस्तै हरिविजोग छ ।