चलचित्र विकास बोर्डले उत्कृष्ट फोटो खिच्नेलाई पुरस्कृत गर्ने

फागुन ०९, २०७७


नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले आउँदो साउनमा हुन लागेको बार्षिकोत्सवमा एक जना फोटोग्राफरलाई पुरस्कृत गर्ने भएको छ । शनिवार चलचित्र पत्रकार संघ नेपालको आयोजना र बोर्डको सहकार्यमा भएको तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष दयाराम दाहालले यो घोषणा गरेका हुन् ।    कार्यशालामा सहभागीमध्ये उत्कृष्ट फोटो खिचेर पठाउने एक जना फोटोग्राफरलाई पुरस्कृत गरिने उनले जानकारी दिए । बिहीवारबाट सुरु भएको कार्यशाला शनिवार सम्पन्न भएको हो । चलचित्र विकास बोर्डको ‘नवरस हल’ मा भएको कार्यशालामा ४० बढी पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यशालामा संघका विभिन्न शाखाका पदाधिकारीहरु पनि सहभागी थिए ।   संघका केन्द्रिय अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । संघले प्रशिक्षार्थीमध्येबाट उत्कृष्ट फोटो खिच्ने एक जनालाई लेन्स पुरस्कार दिने पनि घोषणा गरेको छ । फोटोग्राफर र भिडियोग्राफर बन्न चाहनेहरुका लागि कार्यशाला उपयोगी बनेको संघका महासचिव समिर बलामीले बताए ।   

  कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ, र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिएका थिए । कार्यशालाको संयोजन संघका संगठन उपाध्यक्ष कुबेर डंगोलले गरेका थिए । चलचित्र पत्रकार संघले यसै महिना च्यारिटी शोको पनि आयोजना गर्ने भएको छ ।