सिनेमा हलमा नयाँ फिल्मको खडेरी ?

फागुन १४, २०७७


कोरोना महामारीभन्दा अगाडि हरेक हप्ताको शुक्रवार नेपाली फिल्मबीच भाले जुधाई हुने गरेको थियो । एकै मितिमा दुईभन्दा बढी फिल्म भिड्नु सामान्यझैँ थियो । तर, कोरोनाका कारण ९ महिनासम्म बन्द भएका सिनेका हल पुष १० गतेबाट खुलेपछि नयाँ फिल्मको खडेरी लागेको छ । माघ १ गते ‘एउटा यस्तो प्रेम कहानी’ रिलिजपछि कुनै नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् ।

नयाँ नेपाली, हलिउड र बलिउड फिल्म प्रदर्शनमा नआउँदा दर्शकको भीड सिनेमा हलसम्म पुग्न सकेको छैन । जसले गर्दा कति हलहरु बन्द हुने अवस्थामा पुगेका छन् । निर्माताहरु नयाँ फिल्म प्रदर्शनका लागि तयार नहुँदा अहिले सिनेमा हलमा पुराना फिल्म रि-रिलिज भइरहेका छन् ।नेपाली फिल्म निर्माताले दर्शक आकर्षित नभएकाले आफूहरूलाई फिल्म दिन नमानेको उनी बताउँछन्। भारतीय नयाँ फिल्म आएर दर्शक हलतिर आकर्षित भएपछि मात्रै नेपाली निर्माता–निर्देशकले फिल्म प्रदर्शन गर्ने मनस्थिति बनाएको उनको भनाइ छ।

त्यसो त प्रदर्शनको तयारीमा रहेका नेपाली फिल्म थुप्रै छन्। सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत वर्ष फागुन ३० मा रिलिज हुने तयारी थियो। कोभिड–१९ ले रोकिएको उक्त फिल्म अझै पनि हलमा जान सकेको छैन। निर्देशक थापा भन्छन्, ‘सरकारले अहिलेसम्म हलको शतप्रतिशत ग्यारेन्टी लिन सकेको छैन। गत वर्ष फिल्म प्रचार–प्रसार गर्ने क्रममै छोड्नुपर्यो। अब कहिले फिल्म प्रदर्शन गर्ने भन्नेबारे कुनै सोच बनाएको छैन।

फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’को प्रदर्शन मिति दुईपटक सरेको थियो। गत वर्ष फागुन ३० गते यस फिल्मको प्रदर्शन मिति तोकिएको थियो, यो मिति सरेर पुनः चैत ७ गतेदेखि फिल्म प्रदर्शन हुने प्रचार भयो, तर कोरोनाका कारण प्रदर्शनमा आउन सकेन। यस्तै सन्तोष सेन निर्देशित ‘प्रेमगीत ३’, निकेश खड्का निर्देशित ‘चपली हाइट ३’ पनि प्रदर्शनका लागि तयार छन्, तर कहिले प्रदर्शन गर्ने भन्नेमा फिल्मको टिमले निर्णय गरिसकेको छैन।

फिल्म प्रदर्शन गरेर मात्रै भएन, दर्शकले हेरिदिनुपर्यो। न्यु नर्मलको यो अवस्थामा दर्शक हलतर्फ उति आकर्षित भइसकेका छैन। खासगरी काठमाडौंका हलमा फिल्म हेर्ने माहोल बनाउने हिन्दी फिल्मले हो। यतिबेला हिन्दी फिल्म पनि आएका छैनन्। खुलेका हल सुनसान अवस्थामा छन् ।फिल्म वितरक गोपाल कायस्थ नेपाली फिल्मले मात्र हलमा दर्शक तान्न सक्ने अवस्था नरहेको बताउँछन्। यो अवस्थामा सरकारले केही छुट दिनुपर्ने उनको भनाइ छ। चलचित्र संघ, निर्माता संघ र फिल्म वितरकले केही समयअघि सरकारसमक्ष दुई वर्षसम्म कर छुट, हलको बत्तीको पैसामा छुट लगायत माग राखेका थिए।

त्यसमा सुनुवाइ नहुँदा पनि नेपाली फिल्म चल्न नसकेको उनको भनाइ छ। निर्देशक नवल नेपाल सरकारले हलवालालाई अनुदान दिनुपर्ने बताउँछन्। ‘नेपाली चलचित्रलाई सुचारु गर्न चलचित्र संघ, निर्माता संघ, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्डले पहल गर्न आवश्यक छ, उनले भने, एक–दुई करोड लगानीमा बनेको फिल्म चारजना दर्शकका लागि प्रदर्शन गर्न पनि भएन ।