आन्तरिक पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक भोटे मेला

फागुन १६, २०७७     शरद रेग्मी



दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित कालाखोलामा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक भोटे मेला २०७७ हुने भएको छ । तुलसीपुर एक्सप्रेस प्रा.लि.को आयोजना तथा रानिघाट युवा क्लवको सह–आयोजना एवं तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को संरक्षकमा उक्त मेला हुन लागेको हो । ऐतिहासिक भोटे मेला यहि फागुन २६ गते देखि चैत २ गतेसम्म सञ्चालन हुन लागेको आइतवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
कार्यक्रममा मेला संरक्षक समितिका अध्यक्ष एवं वडा नं ७ का अध्यक्ष टोपबहादुर केसीले दाङमा लाग्ने मेला मध्ये भोटे मेला पुरानो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिएको बताउनुभयो । उहाँका अनुसार बर्षौ पहिलेदेखि लाग्दै आएको भोटे मेला तत्कालिन माओवादी सशस्त्र द्धन्द चरम उत्कर्षमा पुगेको समयमा विक्रम संवत २०५६ सालदेखि लाग्न छोडेको थियो । हिमालका मानिसहरु यहाँ घोडा, तथा विभिन्न जडी बुटी ल्याएर व्यापारका लागि आउँथे,केसीले भन्नुभयो,त्यसले हिमाल र तराईलाई जोड्ने काम गर्दथ्यो । भोटे मेला कहिलेदेखि लाग्न थालेको हो भन्ने एकिनका साथ भन्न सक्ने अवस्था नभएता पनि पुरानो परम्परालाई निरन्तरता दिन र पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस भनेर गत वर्ष देखि पुनः भोटे मेला सञ्चालन गर्न लागेको केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा भोटे मेला सास्ंकृतिक समिति संयोजक दिपक कुमालले मेलामा लोक दोहरी प्रतियोगिता, घोडा दौड प्रतियोगि आयोजना गरिने र विजेतालाई पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष तुलसीपुर उद्योग वाणिज्य सघंको सहकार्यमा विभिन्न उद्योगका स्टलहरु राखिने छ ।
मेलामा गायक पुष्कल शर्मा,गायिका भुमिका गिरी,सिर्जु अधिकारी,गायक देवेन्द्र बस्नेत,गोबिन्द मधुर आचार्य,बाल कलाकार आयुसा गौतम,सचिन परियार लगाएतका कलाकारहरुको सहभागिता रहने सास्कृतिक समिति सदस्य प्रेम विवश घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार ६ दिन सम्म सञ्चालन हुने मेलामा स्थानिय कलाकारहरुलाई विषेश स्थान दिइने छ । मेलामा विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी जुलुस पनि निकाल्ने मेला आयोजक तुलसीपुर एक्सप्रेस प्रा.लि.का अध्यक्ष दोर्ण आचार्यले जानकारी दिनुभयो । साथै उक्त मेलामा आउने दर्शकले मास्क अनिवार्य लगाउनुपर्ने छ । पत्रकार सम्मेलन रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।