‘ए मेरो हजुर ४ र पारस’ बीचको विवाद के हो ?

फागुन १७, २०७७


कोरोनाका कारण देश लकडाउन भएपछि अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन ९ महिना रोकियो । सबै क्षेत्र खुलिसक्दा पनि सरकारले छायांकन अनुमति नदिएपछि निर्माण टिमले जबरजस्ती रुपमा यसपालीको दशैंबाट फिल्मको बाँकी छायांकन सुरु गरेको थियो । मंसिर अन्तिमसम्म छायांकन गरेर फिल्मको पुनः दुई महिनाका लागि छायांकन रोकियो ।

भीडभाडको सिन खिच्नुपर्ने र फिल्ममा गम्भीर विरामी देखिन अनमोलले १० केजी तौल घटाउनु पर्ने भएका कारण दुई महिनाका लागि छायांकन रोकेर निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र अभिनेत्री सुहाना थापा अमेरिका उडे । अब उनीहरु फिल्मको छायांकन गर्न काठमाडौं फर्किसकेका छन् । फागुन २५ गतेबाट बाँकी छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

यो फिल्मका कारण अनमोलको पाइपलाइनमा रहेको होम प्रोडक्सनको फिल्म ‘पारस’ को छायांकन सरेको सर्यै छ । निर्माता भुवन केसी यही फागुन अन्तिम साताबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा जुटेका थिए । तर, ‘ए मेरो हजुर ४’ को छायांकन नै पूरा नभएकाले निर्माता केसी अन्योल स्थितिमा छन् । अब बैशाखअघि फिल्मको छायांकन सुरु हुने सम्भावना न्यून देखिएको छ ।

गम्भीर विरामी भएर अनमोलले कपाल छोटो बनाएकोबाट ‘ए मेरो हजुर ४’ को बाँकी छायांकन सुरु हुनेछ । ‘पारस’ मा भने उनले कपाल लामो बनाउनु पर्नेछ । यही कारण अहिले दुई फिल्मको टिमबीच विवाद सुरु भएको छ । अनमोलले कपाल नछोट्याए फिल्मको छायांकन नै नगर्ने अडानमा ‘ए मेरो हजुर ४’ टिम छ भने अनमोललाई कपाल काट्न दिने पक्षमा ‘पारस’ टिम छैन ।

‘पारस’ निर्देशन गर्न लागेका सिमोस सुनवार ‘ए मेरो हजुर ४’ टिमसँँग यस विषयमा असमझदारी भएको स्वीकार गर्छन् । ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बस्न नहुने बताउँदै उनले भने ‘केही दिन अगाडिको भेटमा उहाँहरुले अनमोलले कपाल काटेन भने सुटिङ नै गर्दैनौं भनेर भन्नुभयो । नमिल्ने गरी जाने हो भने त एग्रिमेन्टमा अनमोलले कपाल काट्नु पर्छ भन्ने उल्लेख नै छैन ।

उनले अगाडि भने, ‘उहाँहरु सुनिल कुमार थापा र झरना थापा र अनमोलले भनेको समय अनुसार हामी फागुनबाट छायांकनमा निस्कने प्लानिङमा थियौं । तर, ‘ए मेरो हजुर ४’ को छायांकनमा ढिलाई भयो । उहाँहरु आफैं छायांकन रोकेर अमेरिका जानुभयो । अनमोलले पटक-पटक मैले ‘पारस’ का लागि कपाल लामो बनाउनुपर्ने छ भनेर उहाँहरुलाई खबर पनि गरिरहेको थियो ।

‘ए मेरो हजुर ४’ टिमले छायांकन गर्ने माहोल हुँदाहुँदै पनि छायांकन नगरी बसेको उनको भनाई छ । उनी थप्छन्, ‘उहाँहरुको फिल्म विग्रियोस् भन्ने हाम्रो चाहना होइन । फिल्म विग्रनु भनेको अनमोललाई पनि राम्रो होइन । कथाले मागेको सिन खिच्नुपर्छ । तर, दुवै पक्ष मिलेर अगाडि बढ्दा राम्रो हुन्छ । कपाल काट्ने वा नकाट्ने भन्ने कुरा हामीले अनमोललाई नै छाडिदिएका छौं ।

अनमोल ले ‘ए मेरो हजुर ४’ मा आफ्नो क्यारेक्टरले मागेको सिनलाई कपाल छोट्याएर ‘पारस’ का लागि गेटअप परिवर्तन गर्न केही समय मागेको सिमोसले बताए । उनले भने( ‘अब अनमोलको गेटअप नै परिवर्तन गर्ने कि भनेर हामी सोचिरहेका छौं । अनमोलले ‘ए मेरो हजुर ४’ को छायांकन भ्याएपछि यस विषयमा छलफल गर्नेछौं । फिल्मको छायांकन चाहिँ केही पछाडि सर्न सक्छ ।

‘ए मेरो हजुर ४’ का निर्माता सुनिल कुमार थापा भने ‘पारस’ टिमसँग कुनै प्रकारको विवाद नभएको बताउँछन् । ‘हो, फिल्ममा अनमोलले कपाल छोटो बनाउनुपर्ने सिक्वेन्स छ । यसका लागि हिरो तयार छ, उनले भने ‘यस विषयमा सिमोसजीसँग कुरा भएको थियो । जुन अवस्थामा फिल्म रोकिएको थियो, त्यही अवस्थाको अनमोलको गेटअप चाहिन्छ भनेर हामीले भनेका थियौं ।