गोर्खा वारियर–२ बनाउँदै मिलान चाम्स

फागुन १९, २०७७


सम्भवतः विश्व फिल्म इतिहासमा पहिलो फिल्म फस्ट पार्ट नबन्दै सिक्वेल वा सिरिजको घोषणा र निर्माण भएको उदाहरण छैन । पहिलो पार्टले बक्सअफिसमा नाफाको व्यापार गरेपछि निर्मातार निर्देशकहरु त्यसको दोस्रो पार्टका लागि अगाडि सर्ने गरेका छन् । तर, नेपालमा एक फिल्मको पहिलो पार्टभन्दा अगाडि दोस्रो पार्ट निर्माण हुने भएको छ । त्यो फिल्म हो ‘गोर्खा वारियर २’ ।

निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ लाई अर्को वर्ष निर्माण गर्ने गरी मंगलवार राजधानीको होटल र्‍याडिसनमा एक कार्यक्रमका बीच ‘गोर्खा वारियर २’ घोषणा गरे । यही फागुन २७ गतेबाट छायांकनमा जाने फिल्मको मलेशिया, बेलायत र नेपालको सोलुखुम्बुमा छायांकन हुनेछ । अनुमानित ३ करोडको बजेटमा निर्माण हुने फिल्मले वीर गोर्खालीहरुको कथा वाचन गर्नेछ ।

फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायतको अभिनय रहनेछ । फिल्मको कथा निर्देशक चाम्सले नै तयार पारेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई गिरीराज घिमिरेले साथ दिएका छन् । सुदिप बरालले खिच्ने फिल्मलाई सम्पादन गर्ने जिम्मेवारी अर्जुन जिसीको काँधमा छ ।

हिमाल केसीको द्वन्द्व, एलिश कार्कीको संगीत र राजेश पायल राईको स्वर रहने फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । यो फिल्मबाट रितेश चाम्सले नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । यस फिल्मका लागि आफूले अभिनय र एक्सनमा निकै मिहिनेत गरेको उनले बताए । गोर्खालीको कथामा बन्न लागेको फिल्ममा जोडिन पाएकोमा उनले खुसी व्यक्त गरेका छन् ।

‘गोर्खा वारियर’ को चार सिरिज बन्ने र पहिलो पार्टको छायांकन अर्को वर्षबाट सुरु हुने निर्देशक चाम्सले बताए । उनले भने ‘हामीले ‘गोर्खा वारियर’ को २० प्रतिशत महत्त्वपूर्ण सिनहरुको छायांकन गरिसकेका छौं । ठूलो बजेटमा निर्माण हुने र विदेशमा खिच्नुपर्ने भएकाले यो समयमा सम्भव भएन । अहिलेको अवस्थामा फिल्म क्षेत्रलाई उठाउन पहिला दोस्रो पार्ट बनाउन लागेका हौं ।

‘गोर्खा वारियर २’ गोर्खाली सेनाको वीरता र योगदानमा आधारित हुने उनले बताए । लन्डन सिनेआइ प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको सह-निर्मातामा सुरेश राई र पूर्ण लिम्बु छन् । फिल्मको घोषणा सभामा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले राष्ट्रिय गौरवको विषयमा फिल्म बनाउने हिम्मत गरेकोमा मिलन चाम्सलाई धन्यवाद व्यक्त गरे ।