‘मिरर’ मा आर्यनको जोडी उपासना

फागुन १९, २०७७


नेपाली फिल्मका अहिलेका प्रायः गीतमा कविराज गहतराजको कोरियोग्राफी रहने गरेको छ । गीतको भावअनुसार कोरियोग्राफी गर्न सिपालु मानिने उनले हरेक प्रकारका गीतमा नृत्यको रंग छरेका छन् । अब, उनै कविराजले फिल्मको क्याप्टेनसिप सम्हाल्ने भएका छन् । फिल्म ‘मिरर’ बाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । यो नाम चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ ।

केही दिनमा एक कार्यक्रमका बीच निर्माण घोषणा गर्ने तयारी गरिएको फिल्ममा अभिनेता आर्यन सिग्देल मुख्य भूमिकामा देखिनेछन् । उनीसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । कविराजको नृत्य निर्देशनमा आर्यनले थुप्रै फिल्ममा काम गरेका छन् । फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरीले पनि काम गर्ने लगभग सहमति भएको कविराजले जानकारी दिएका छन् ।

फिल्मको विषयमा उनले भने, ‘आर्यन जीसँग सम्झौता भइसकेको छ । उपासना पनि लगभग फाइनल हो । अहिले अरु कलाकार छनोट गर्दैछौं । बैशाखबाट छायांकनमा निस्कने तयारी छ ।’ आफूले कोरियोग्राफीको रुपमा बटुलेको अनुभवलाई इमान्दारपूर्वक निर्देशनमा खन्याउने उनले बताए । फिल्म नृत्यकै कथामा बन्ने हो रु भन्ने प्रश्नमा उनले घोषणा अवधिसम्म पर्खन आग्रह गरे ।

आर्यन र उपासना अहिले फिल्म ‘डिसेम्बर फल्स’ को छायांकनमा व्यस्त छन् । यो फिल्मपछि आर्यनले कविराजको ‘मिरर’ लाई समय दिनेछन् । उपासनालाई भने अभिनेता राजेश हमालले अभिनय गर्ने फिल्म ‘सत्यम्’ बाट पनि अफर भएको छ । उनी यो फिल्म गर्न सकारात्मक रहेको बुझिएको छ । तर, उनले ‘सत्यम्’ साइन गरेको खण्डमा दुई फिल्मको छायांकन जुध्ने देखिन्छ ।