एकाडेमीबाट बिक्ने र टिक्ने खेलाडी उत्पादन गर्छौ:-अध्यक्ष बस्नेत

फागुन २०, २०७७


तुलसीपुर २० फागुन ।
खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि तुलसीपर स्पोर्ट्स एकाडेमीको प्रालिको स्थापना भएको छ ।तुलसीपुर ९ बेलुवामा आठजना युवाहरुले करिब ३० लाखको लागतमा स्पोर्टस एकाडेमीको स्थापना गरेका हुन् । सबै क्षेत्रका खेलाडी उत्पादन र खेलकुदको प्रवर्द्धका लागि स्थापना गरिएको एकाडेमीमा अहिले क्रिकेट खेलको प्रशिक्षण शुरु गरिएको स्पोर्ट्स एकाडेमी प्रालिका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिनुभयो ।

दाङसहित देशभर खेलाडी उत्पादन भएपनि गुणस्तरिय खेलाडी उत्पादन हुन नसकिराखेको अवस्थामा माग अनुसार खेलाडी उत्पादन गर्न प्रालिको स्थापना गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

 उहाका अनुसार खेलकुद गतिविधि संचालनका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम सकिएको र आगामी चैत्र ९ गते  उद्घाटन गर्ने लक्ष्य रहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । क्रिकेट, भलिवल, फुटवल, कराँते लगायतका सबै प्रकारका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रालिको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो अबस्थामा खेलकुदले खासै गति लिन नसकिरहेको अबस्थामा फराकिलो  तथा ब्यबसायिक रुपले अघि बढाउनुपर्ने , खेलाडीलाइ प्रात्साहन गर्दै अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उत्पादित खेलाडिहरुले स्थानिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत सफल हुने उहाँको विश्वास छ । एकाडेमीमा बिहान, दिउँसो र रातीमा पनि खेल अभ्यास हुने प्रालिका शेयर सदस्य कमल डाँगीले जानकारी दिनुभयो । उहाँले महिलाहरुका लागि प्रवेश शुल्क निशुल्क रहेको बताउनुभयो । प्रालिका अध्यक्ष लक्ष्मण बस्नेतको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।

प्रालिका सेयर सदस्य नबिन राइको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रालिका सेयर सदस्य संजोग गिरीले गर्नुभएको थियो ।