गरिबीले सफल बन्न सहयोग गर्छ : निखिल उप्रेती

चैत ०९, २०७७


नेपाली फिल्ममा एक्सन नायकको परिचय बनाएका निखिल उप्रेतीले आर्थिक अवस्था र कमजोरीले कुनै पनि ठाउँमा पुग्न बाधा नगर्ने बताएका छन् । शनिवार सर्लाहीको बरहथवा नगरपालिकाको आयोजनामा भएको ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ बाट सम्मानित भएपछि उनले आफ्ना प्रशंसकहरुलाई हौसला प्रदान गर्दै गरिबीले सफलता प्राप्त गर्न बाधा नभइ सहयोग गर्ने बताए ।

गरिबीसँग लड्दा लड्दै लड्ने क्षमता त्यसै नै बनिसकेको हुन्छ । गरिबीलाई अप्ठ्यारो भन्दा पनि चुनौती बन्न सक्नुपर्छ, सफलता त्यतिक्कै आउँछ, उनी भन्छन्, आफैंलाई म गरिब छु वा अप्ठ्यारोमा छु भनेर नसोच्नु । म पनि भैंसी चराएरै हिँडेको हो । मलाई यो ठाउँमा पुग्न कसैले रोकेन । यदी हामी गरिबीका कारण सफल बन्न सकेनौं भनेर सोचिरहेका छौं भने त्यो हाम्रो कमजोरी हो ।

उनले कलाकार बन्नका लागि टिकटकमा मात्र हिट भएर नहुने पनि बताएका छन् । निखिल अगाडि भन्छन् ‘टिकटकमा हिट भएर मात्र हुँदैन, ठूलो प्लेटफर्ममा जाने पनि आश राख्नुपर्छ । जहिल्यै पनि ठूलो सोच्नुपर्छ । सानोमा हामीले खुबी देखायौं भने त्यसलाई ठूलो बनाएर आउनु पर्छ । आफू निखिल उप्रेती बन्नको पहिलो सुरुवात नै भैंसीबाट जिमन्यास्टिक गरेर भएको उनी बताउँछन् ।

सर्लाही कलाकार जन्मने ठाउँ रहेको र अझ निस्कने सक्ने कलाकार धेरै रहेको उनले बताए । निखिल भन्छन्, फिल्म इन्डस्ट्रीमा मलाई अवसर दिने कोही थिएन । सर्लाहीकै पवल मैनाली दाईले मलाई फिल्ममा चान्स दिनुभएको थियो । सर्लाहीको भूमिमा चान्स दिने पनि छन् र चान्समा डान्स गर्ने पनि छन् । एकसेएक कलाकार सर्लाहीमा छन् र भोलीका दिनमा अझ धेरै जन्मनेवाला छन् ।