नयाँ फिल्म बनाउँदै सविन

चैत १०, २०७७


एक्सन नायकको छवि बनाएका सविन श्रेष्ठ फिल्म ‘हिरो रिर्टन्स’ बाट निर्माता बने । अभिनेत्री रेखा थापालाई मुख्य भूमिकामा लिएर फिल्ममा उनी स्वयंले अभिनय गरेका थिए । निर्माण सम्पन्न भएको करीब ३ वर्ष फिल्म कम्प्यूटरमा थन्किएपछि यस वर्षको बैशाख २६ गतेलाई निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको थियो । तर, कोरोना महामारीका कारण फिल्म हलमा रिलिज हुन पाएन ।

यसपछि निर्माण टिमले सिनेमा हलको विकल्प खोज्दै लकडाउनको समयमा डिसहोममा फिल्म रिलिज गरेको थियो । पहिलो निर्माणमा नै धक्का खाएका सविन अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनी यही चैत अन्तिम साता फिल्मको औपचारिक घोषणा गरेर बैशाखबाट छायांकन सुरु गर्ने तयारीमा छन् । यो फिल्ममा आफू भिलेनको भूमिकामा देखिन सक्ने उनले बताए ।

हिरो रिर्टन्स’ बाट आफू निराश नभएको सविनको तर्क छ । उनी भन्छन्, निराश भएको थिएँ भने त नयाँ फिल्म बनाउने आँट नै गर्दिनँ थिएँ नी । ‘हिरो रिर्टन्स’ बनाएर प्रदर्शन गर्ने समयमा लकडाउनले रोक्यो । अहिले फिल्मको विभिन्न ठाउँमा च्यारिटी गरिरहेको छु । यसैको उत्साह र उमंगले फेरि नयाँ फिल्म बनाउन लागेको हुँ । अब फिल्म निर्माणलाई निरन्तरता दिने छु ।

आफूले निर्माण गर्ने फिल्ममा अब आफैं हिरो हुने सोच नरहेको उनको भनाई छ । कथाले माग्यो भने खेल्छु नभए नयाँ प्रतिभालाई अवसर दिनेछु । त्यसमाथि यसपटक लभस्टोरी फिल्म बनाउन लागेको हुँ । म हिरो बन्दिनँ, भिलेनको भूमिकामा चाहिँ देखिन सक्छु, उनले भने । फिल्ममा निर्देशकदेखि कलाकारसम्म सबै नयाँ हुने उनले बताए । अभिनेत्री भने भारतबाट झिकाइँदैछ ।