विपुल पोख्रेल नेतृत्वको प्यानलको पक्षमा माहोल

चैत २३, २०७७


काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव देशव्यापी रुपमा आउँदो बुधबार हुँदैछ । महासंघको यसपटकको चुनाव विगतको भन्दा फरक प्रणाली, माहोल र परिस्थितीबीच हुँदैछ । यसैपालीदेखि नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत आफ्नो नेतृत्व चयन गर्दैछ । चुनावमा विपुल पोख्रेल नेतृत्वमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यवसायिक, श्रमजिवी पकारहरुको संयुक्त प्यानल बनेको छ भने त्यसको विरुद्धमा गणेश बस्नेत नेतृत्वको प्रेस चौतारीले निर्मला शर्माको नेतृत्वमा अलग प्यानल चुनावी मैदानमा उतारेको छ । पोख्रेल नेतृत्वको संयुक्त प्यानललाई नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी (विश्वमणि सुवेदी नेतृत्वकों), प्रगतिशिल पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघ, नेपालले समर्थन गरेका छन् । पोख्रेल नेतृत्वको केन्द्रीय समितिको प्यानलका उम्मेदवारहरुको अन्तिम नामावलीको घोषणा शनिबार गरिएको छ । पोख्रेलको प्यानलमा बरिष्ठ उपाध्यक्ष पदमा रमेश विष्ट, उपाध्यक्ष (महिला)मा बाला अधिकारी, उपाध्यक्ष (समावेशी)मा उदय जिएम उम्मेदवार रहेका छन् । यसैगरी महासचिवको उम्मेदवारमा रोशन पुरी छन् भने सचिव (खुला)मा गोविन्दप्रसाद चौलागाई, सचिव (महिला)मा सृजना अर्याल, सचिव (आदिवासी÷जनजाती)मा नारायण सुन्दर किलम्बु, सचिव (मधेसी)मा दिपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक, सचिव (एसोसिएट)मा पवन आचार्य उम्मेदवार रहेका छन् । कोषध्यक्षमा कलेन्द्र सेजुवाल छन् भने लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने रहेका छन् । यसैगरी खुला सदस्यहरुमा छवि तिवारी, नारायणप्रसाद पंगेनी, बासुदेवशर्मा (बबिन शर्मा), माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री रहेका छन् । त्यस्तै महिला सदस्य (खस आर्य)मा सरिता तिम्सिना, महिला सदस्य (मधेसी)मा ललिता कुमारी साह, महिला सदस्य (आदिवासी÷जनजाति) शान्ता आङबुहाङ र महिला सदस्य (दलित)मा सरिता बराईलीले उम्मेदवारी दिएका छन् । चैत २५ गते हुने महासंघको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासङ्घको निर्वाचन मण्डलका पदाधिकारीहरुले जानकारी दिएका छन् । महासंघ्को यस वर्षको निर्वाचनमा १३ हजार १२२ मतदाता छन् । केन्द्रीय समितिका ४९ पदाधिकारी निर्वाचित हुँदैछन् । सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुनेछ । ७ प्रदेश बाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ । उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ । एसोसिएटलाई पनि प्रदेश स्तरकै मान्यता दिइएको छ । एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार सङ्घ, खेलकुद पत्रकार सङ्घ र वातावरण पत्रकार समूहको सहभागिता छ । त्यस्तै प्रतिष्ठानहरुबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ ।