लुम्बिनी क्षेत्रमा पनि वायु प्रदूषण उच्च

चैत २४, २०७७


अन्तर्राष्ट्रिय पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनी वायु प्रदूषणको उच्च चपेटामा परेको छ । भैरहवा-लुम्बिनी कोरिडोरमा सञ्चालित दर्जनौं ठूला उद्योगले उत्सर्जन गर्ने धुँवा, धूलोका कारण विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र प्रदूषित बनेको हो ।

लुम्बिनी क्षेत्रमा १५ किलोमिटरभन्दा टाढामात्र उद्योग खोल्न पाउने नियमविपरीत १२ किलोमिटरभित्रै उद्योग सञ्चालनमा छन् । यो कोरिडोरमा दर्जन बढी सिमेन्ट उद्योगमात्रै सञ्चालनमा छन् भने छड, इँटा, कागज, खाद्य, सिन्थेटिकलगायतका तीन दर्जन बढी ठूला उद्योग छन् । यसबाहेक लुम्बिनी वरिपरि झण्डै तीन दर्जन इँटा उद्योग छन् । यी इँटा उद्योग पनि प्रदूषणको अर्को कारक हुन् ।

विशेषगरी कोइला प्रयोग र इँटाका चिम्नीबाट निस्किने धुवाँको मुस्लोले वायु प्रदूषण बढाइरहेको छ । ती उद्योगले उत्सर्जन गर्ने कार्बन मोनोअक्साइड ग्याँसका कारण अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी प्रदूषणको चपेटामा परेको हो ।