अनमोललाई ७५ लाख अफर गरेको फिल्मको नाम ‘एक्स नाइन’

बैशाख ०५, २०७८


मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्म ‘लप्पन छप्पन २’ कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन । यो फिल्मको प्रदर्शन अन्योल बनेपछि मुकुन्द नयाँ फिल्मको तयारीमा जुटेका छन् । गत वर्ष उनले अभिनेता पुष्प खड्कालाई फिल्ममा साइन गराएका थिए । यो फिल्ममा अभिनेता द्वय सौगात मल्ल र निश्चल बस्नेतले पनि अभिनय गर्ने पक्कापक्की भइसकेको जानकारी प्राप्त छ ।

यो फिल्मको अफर अभिनेता अनमोल केसीलाई पनि गरिएको छ । उनलाई निर्देशक भट्टले ७५ लाख पारिश्रमिक अफर गरेका छन् । जन्मदिनको अवसरमा अनमोल स्वयंले आफूलाई अफर भएका फिल्ममध्ये यो फिल्ममा काम गर्ने सम्भावना प्रवल रहेको बताएका थिए । विश्वस्त स्रोतले दिएको जानकारी अनुसार, केही दिनमा निर्माण टिमले अनमोलसँग कागजी सम्झौता गर्दैछ ।

यसबीच, निर्माण टिमले फिल्मको नाम जुराइएको छ । निर्देशक भट्टले नयाँ वर्षको अवसरमा आफ्नो फेसबुकमा सार्वजनिक गरेको एक पोस्टरमा फिल्मको नाम ‘एक्स नाइन स् लेभल वान’ उल्लेख छ । पोस्टरमा फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रिलर भनिएको छ । बैशाख २० गते एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिने निर्देशक भट्टले बताएका छन् ।

सरोज रिजाल कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा यादव प्रसाद पाठक छन् । फिल्मको कथा, पटकथा तथा संवादमा निर्देशक भट्टलाई नरेशनाथ योगी किंग योगी ले सघाएका छन् । फिल्ममा अनमोललाई हिरो र सौगातलाई भिलेनको रुपमा प्रस्तुत गर्ने तयारीमा मुकुन्द छन् । स्टारकास्टमै ठूलो खर्च गर्न लागेको निर्माण टिमले फिल्ममा ५ करोडभन्दा बढी लगानी गर्दैछ ।