नेपाली फिल्म ‘आप्पा’ निर्माता लेप्चाले जिते पश्चिम बंगालको चुनाव

बैशाख १९, २०७८


काठमाडौं । नेपाली फिल्म ‘आप्पा’ निर्माता रुदेन सादा लेप्चाले भारतको पश्चिम बंगाल राज्यको विधान सभा चुनावमा दार्जिलिङको लोकसभा सिटमा चुनाव जितेका छन् ।

उनले उक्त सिटमा कालिम्पोङ जिल्लाको प्रतिनिधित्व गर्छन् । भारतको निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारको हैसियतमा उनले जित हासिल गरेका हुन् ।

उनले बीजेपीका शुभ प्रधानसहित अन्य ६ जना उम्मेदवारलाई पछि पारेका हुन् । उनी २२ औं नम्बरका उम्मेदवार थिए । उनले निकटतम प्रतिस्पर्धीलार्ई ४ हजार मतको अन्तरले पराजित गरेको त्यहाँका संचारमाध्यमले जनाएका छन् ।

सन् २०१९ मा रिलिज भएको फिल्म आप्पाका निर्माता रहेका लेप्चाले भारतको पश्चिम बंगालमा नेपाली फिल्मको विकासमा योगदान दिएका छन् । दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म आप्पा नेपाल र भारतमा एकसाथ रिलिज भएको थियो ।

लेप्चाको विजयीपछि उनका नेपाली फिल्म सहकर्मी एवं कबड्डी फिल्म निर्माता मणीराम पोखरेल, निर्देशक अनमोल गुरुङ, रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई लगायतले बधाइ समेत दिएका छन् ।