बोनस आयुमा समाज र शिक्षाका लागि अझ वढि कटिवद्ध भएर लाग्छु : सुरेन्द्र जि.सी

बैशाख २७, २०७८     सुरेन्द्र जि.सी


सर्वप्रथम यो नयाँ जीवनका लागि हरेक पल कामना अनि सहयोग गर्ने मेरा आफन्ती, साथीभाई, विद्यार्थी, शुभेच्छुक सबै सबै प्रति हार्दिक नमन गर्दछु । यहाँहरुले लगाउनु भएको गुण मेरो जीवन रहदासम्म सम्झीरहनेछु । मृत्युसँगको कठिन संघर्ष अहिले म आफ्नाहरुका बीचमै छुँ । यो नै मेरा लागि सबैभन्दा ठूलो खुसीको कुरा हो । जुन अस्पताल मेरो जीवनको अन्तिम ठाउँ हुन्छ भन्ने सोचेको थिए डिस्चार्ज भएर त्यही अस्पताललाई पृष्ठभुमिमा राख्दै खिचेको यो फोटो राख्दा खुसीले आफैलाई सम्हाल्न गाह्रो भएको छ ।
अन्जु पन्तको एउटा गीत छ, जुन मलाई साह्रै मन पनि पर्छ । जीन्दगीको फूलै फूलको थुँगो हुँदैन, ओईलाउने र अस्ताउने टुँगो हुँदैन । वास्तवमा यो गीतमा भने जीन्दगीले कहाँनेर स्टेशन भेट्छ भन्नै सकिदो रहेनछ । हामीले सोचेभन्दा पनि छोटो यो जीवनको अहिले साह्रै माया लागेर आएको छ ।
कोरोनाले च्याप्दै लगेपछी आफैलाई बाँच्दिन भन्ने अन्तर्वोध भएको थियो । छातिको संक्रमणका कारण कोरोना संक्रमण निकै जटिल अवस्थामा पुगेको थियो । शिक्षा क्षेत्रमा केही काम गरेको थिए । केही अधुरा थिए, गर्दै थिए । अव म रहेन भने मेरा ती योजनाको अवस्था के होला भन्ने खुबै चिन्ता लाग्थ्यो । अहिलेसम्मको यो जीवनमा म आफ्ना लागि कम र समाज अनि शिक्षाका लागि धेरै बाँचे । सायद त्यही भएर होला सबैको पुकार, स्नेह, कामनाले यो जीवन पाए ।
कोरोना संक्रमण भएपछि यतिधेरै जटिलमोडमा जीन्दगी पुग्ला भन्ने मैले सोचेकै थिईन । संस्थाको प्रमुखका हिसावले कोरोनाबाट जोगिदै जिम्मेवारी पुरा गर्नु मेरो दायित्व थियो । त्यही दायित्व पुरा गर्दा म यसको शिकार भए । एकाध दिन घरमा आराम गरेपनि अलि वढि च्याप्न थालेपछी कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भए । स्वास्थ्यमा सुधार आउने र विग्रने हुन थालेपछी चिकित्सकसँग परामर्श गर्दा तत्काल काठमाडौ गएर आइसियुमा राखेर उपचार गरेपछी मात्रै बाँच्न सकिने वताएपछी सबैको सहयोगमा तत्काल हेलिकोप्टरमार्फत हेम्स अस्पतालको आइसियु कक्षमा भर्ना भएर उपचार भयो । म उपचारमा थिए । बेहोस अवस्थामा थिए । मेरो उपचारको व्यवस्थापनका लागि खट्नुभएका साथीहरुलाई समेत मेरो स्वास्थ्यमा के भइरहेको छ भन्ने थाहा थिएन । तर पनि चामत्कारिकरुपमा मेरो स्वास्थ्यमा सुधार आयो । मैले नयाँ जीवन पाउने भए ।
म कोरोना संक्रमण भएको अवस्थामा जहाँ जहाँ जे जे आवश्यकता पर्यो त्यहाँ त्यहाँ सबै साथीहरुले मन लगाएर सहयोग गर्नुभयो । यो कठीन घडीमा सहयोग गर्ने सबैको लगानी अन्ततः सार्थक भएको छ । यहाँहरुकै सहयोग र शुभेच्छाको प्रतिफल यो दोस्रो जीवन सम्भव भएको हो ।
दुईदिने घामछाँया जस्तो जीन्दगीमा मेरो लागि केही समय फेरी थपिएको छ । यो बोनस आयु म समाज र शिक्षाका लागि अझ वढि कटिवद्ध भएर लगाउने छुँ । समाजले मबाट गरेको अपेक्षा पुरा गर्न म हरदम तत्पर रहने छुँ । कोरोनालाई खेलाँची नठानौ, सजग भएर बसौ तपाई हामी मिलेर अझै गर्नुपर्ने धेरै छ ।