जसले लोकसेवा पढ्न निरन्तर प्रेरित गर्नुभयो

जेठ ०५, २०७८     ध्रुव राज न्यौपाने (डि.आर.एन)


सानैमा बिहे गरे । उमेर १७ बर्ष थियो । बि.स.२०६५ सालमा कक्षा १० को एस.एल.सि परिक्षा दिएको थिए । रिजल्ट आएको थिएन । रिजल्टकै पर्खाईमा बसिरहेकै बेला बिहे गरियो । बिहे त गरियो तर जागिर भन्ने कुनै चिज नै थिएन । अब आफ्नो र श्रीमतिको खर्च टार्ने कुरामै समस्या उत्पन्न हुँदै थियो। बिहेपछी पनि घरपरिवारकै साहारा लिएर जसो तसो जीवन अगाडि बढाउछु भन्ने कुरा दिमागमा आउदैनथ्यो । जे जे गर्नु पर्छ त्यो म आफैले गर्नुको बिकल्प थिएन । बिहे पछि जस्तो भए पनि जे भए पनि जागीर भने खानुनै थियो । भर्खरै एस.एल.सि परिक्षा दिएको मलाई कसले जागिर देवस त्यही माथी बिना सर्टिफिकेटको (एस.एल.सिको नतिजा प्रकशित नभएको) ।

वि.स.२०६४ सालतिर कक्षा ९ मा अध्ययन गर्दा देखि नै म रेडियोमा बोल्न सुरु गरेको थिए । रेडियोमा बोल्ने भएपनि यसलाई जागिर भनेर भन्न सकिने स्थिती थिएन । किनकी रेडियोमा बोल्ने जो कोहिले पैसा पाउदैनन । त्यो पैसा नपाउने रेडियोकर्मिका बिचमा एक म पनि थिए । अझ मैले त हरेक हप्ता रेडियोमा बोल्न जादा कमाउने भन्दा पनि साप्ताहिक रुपमा रु एक सय खर्च गर्नु पर्थ्यो । त्यो समयमा एक सयको नोट नै काफी ठूलो रकम लाग्थ्यो मलाई । घोराहिको रेडियो मध्यपश्चिम बाट रेडियो करिअर सुरु गरेको थिए । त्यहा साप्ताहिक एउटा कार्यक्रम संचालन गर्थे । त्यही कार्यक्रम सन्चालन गर्न जादा गाडी भाडा(जादा-आउदा) र नास्तामा त्यही एउटा हरियो नोट सकिन्थ्यो । यो भने त्यही एक सयको खर्चको फेहरिस्त थियो । पछि म घोराही देखि तुलसीपुरको रेडियो तुलसीपुरमा स्थानान्तरण भए । तुलसीपुरमा आएपछी भने रेडियो यात्रा अलि सहज भयो । तुलसीपुर क्षेत्रमा एउटा मात्रै रेडियो भएकाले म स्रोतामाझ नोटिस हुन थालिसकेको थिए । म चिनिन थालेको चाहिँ मैले दिने कन्टेन्ट राम्रो भएर हो कि तुलसीपुर क्षेत्रका स्रोतालाई रेडियो सुन्ने बिकल्प नभएर हो त्यो भने त्यति अनुमान गर्न सकिएन तर आफुले सके जति मिहिनेत गरेरै कार्यक्रम संचालन गर्ने गर्थे । मैले रेडियोमा काम गर्दै जादा बिस्तारै बिस्तारै महिनावारी तलब खाने पनि भए । रेडियोबाट तलब खाए पनि मैले यसलाई कहिले जागिरको संज्ञा दिएन ।

रेडियो सङ्गसङ्गै मैले घर नजिकैको एउटा बोर्डिङ स्कुलमा एस.एल.सीको नतिजा सार्बजनिक भएपछि पढाउन पनि सुरु गरे जहाँ मेरो मासिक एक हजार पाँच सय रुपैया तलब थियो । त्यो तलबले केही हद सम्म मेरो व्यबहार टार्न मद्दत गर्थ्यो । त्यो बेला त्यही पन्ध्र सय रुपैया पनि कति ठूलो कमाई लाग्थ्यो । त्यही पैसाले मासिक खर्च टार्ने आट आउथ्यो । कहिलेकाही मनमनै सोच्छु त्यो बेलाको पन्ध्र सयमा कति ठूलो शक्ति जुन शक्ति आजभोलिको पन्ध्र हजारमा पनि छैन ।

रेडियो र स्कुलमा काम गरिरहेकै थिए । घर नजिकै ससुराली थियो । स्कुल बाट पढाएर आउदा जादा होस या बाटोमा घुम्न निस्कदा होस ससुरालिका प्राय सबै सदस्यहरु सङ्ग बेलाबेला भेट भैइहाल्थ्यो । ससुरा बुवा(महेन्द्र राज शर्मा) र आमा (शुभद्रा शर्मा) का चार जना छोरी,दुई जना छोरा । सबैको बिहे भैइसकेको छ । नाताले म साईलो ज्वाइँ ( पुर्णिमा शर्माको श्रीमान) । हाल ससुरालिमा ससुरा बुवा,आमा,दुई जना दाइ-भाउजू अनि उहाँका बाबू नानिहरु हुनुहुन्छ । ठुली दिदी र साडु दाइ सल्यानमै व्यापार ब्यबसाय गर्दै आईराख्नु भएको छ । माईलिदिदी यतै दाङमै हुनुहुन्छ भने साडु दाइ बिदेश ,कान्छी साली र भाइ पनि बिदेश गएका छन ।

ससुरा बुवा पेशाले सरकारि कर्मचारी । खरिदार पदबाट जागिर सुरु गरेका उहाँ अधिकृत भएर सेवाबाट अनिबार्य अबकास हुनुभयो । मेरो जेठो जेठान ( दामोदर शर्मा) दाई र भाउजू ( सुनधरा शर्मा) पनि सरकारी कर्मचारी हुनुहुन्छ । हाल उहाँहरु दुबै जना दङ्गिशरण गापामा स्वास्थ्यकर्मीको रुपमा कार्यरत हुनुहुन्छ । कान्छा जेठान (नबराज शर्मा) दाइ पनि सरकारी कर्मचारि नै हुनुहुन्छ । हाल उहाँ जिल्ला प्रशासन कार्यालय दाङमा नायब सुब्बाको रुपमा कार्यरत हुनुहुन्छ । कान्छी भाउजु ( अन्जु शर्मा) ले पनि सरकारि सेवाकै तयारी गरिराख्नु भएको छ । ससुरालीका सदस्यहरुमध्ये जतिले जागिर खानु भएको छ त्यो सबैको पछाडी ससुरा बुवाकै हात रहेको छ । घरमा आफू सरकारी कर्मचारी भएकाले नै उहाँले घरका सबै सदस्यलाई सरकारी जागिर खान प्रेरित गर्नुभयो । उहाँकै बल ढिपिमा घरका दाइ,भाउजू सहित अन्य ईस्टमित्रहरुको पनि सरकारी सेवामा नाम निस्कियो र जागिरको सुरुवात भयो । प्राय: थुप्रै ब्यक्तिहरुलाई सरकारी जागिर खान प्रेरित गर्ने उहाँ मलाईपनी सरकारी जागिरको लागि लोकसेवा पढ्न प्रेरित गर्ने महत्त्वपूर्ण ब्यक्ति हुनुहुन्थ्यो ।

म ससुराली जादा जब उहाँ सङ्ग भेट हुन्थ्यो लोकसेवा बाहेकका अन्य कुरा गरेको मलाई स्मरण छैन । उहाँ सङ्ग बसेर गफ गर्ने भनेकै सरकारी जागिरको थियो । कहिले काहीँ मेरो रेडियो यात्राका केही कुराहरुको बारेमा जानकारी लिए पनि त्यो लोक सेवा आयोगको अघि गौन जस्तै हुन्थ्यो । त्यसका अलावा अन्य कुराकानी हाम्रो खासै हुदैनथ्यो । जहिले पनि लोकसेवा पढ्नुस,अस्थायी जागिरको पछि नलाग्नुस भन्नुहुन्थ्यो । मलाई त्यतिबेला लोकसेवा पढ्ने भन्ने खासै जागर लाग्दैनथ्यो । मलाई त रेडियोमा बोल्ने,चलचित्रको कार्यक्रम चलाउने,सामान्य ज्ञान सम्बन्धि कार्यक्रम संचालन गर्ने रहर थियो जुन मैले गरिरहेको थिए । जब जब ससुरा बुवा सङ्ग भेट हुन्थ्यो उहाँले मलाई लोकसेवा पढेको नपढेको बारे बुझ्न चाहानुहुन्थ्यो । म उहाँ सङ्ग झुट बोल्न बाद्य हुन्थे किनकी मलाई त्यता तिर खासै रुचि थिएन । ससुरालीमा बुवा सङ्ग सधै झुट बोल्दा बोल्दा अन्तत म थाके र एक पटक लोकसेवा पढ्ने निधो गरे ।

म लोकसेवा पढ्नकै लागि तुलसीपुरमा गर्दै आएका सबै कामहरु स्थगित गर्दै वि.स.२०७१ सालमा काठमाडौ हानिए । काठमाडौ गएपछिको केही महिनामै मेरो कान्छा जेठान (नबराज शर्मा) पनि लोकसेवा पढ्न काठमाडौ जानुभयो । हामी रुम पार्ट्नर भयौ । लोकसेवा पास गर्नको लागि आफुले सक्ने जति मिहेनत गर्यौ । पहिलो बर्ष हामी दुबै जनाको नाम निस्किएन । त्यसपछि दाइ भने फेरि लोकसेवा पढ्नकै लागि काठमाडौं जानू भयो । त्यसबेला तुलसीपुर रक्षाचौरमा रहेको गुरु जजुर नमुना माबिमा लेखापाल पदको लागि बिज्ञापन आह्वान भएको थियो । लोकसेवामा जति पढे पनि नाम निस्कने टुङ्गो नहुने भएकाले मैले त्यही बिज्ञापनमा दर्खास्त दिने निर्णय गरे । लेखापाल पदमा स्कुलले उपलब्ध गराएको फाराम भरे र उक्त पदमा परिक्षा दिए । नतिजा मेरो पक्षमा आयो । सायद एक बर्ष काठमाडौ बसेर लोकसेवा पढेको कुरा यहाँ काम लागेको थियो । म गुरु जजुरमा २०७२ असोज महिनादेखी लेखापालको रुपमा कार्य गर्न थाले । अर्को बर्ष नबराज दाईको नायब सुब्बामा नाम निस्कियो । दाईको नाम निस्किएपनी मेरो निस्किन सकेन । सायद मेरो तयारी अलि पुगेको थिएन होला । मेरो पनि लोक सेवामा नाम निस्केवस भनेर ससुरा बुवाले सधै मलाई राम्रो सङ्ग पढ्नुस,निरन्तर लाग्नुस एक दिन नाम निस्किन्छ भन्नुहुन्थ्यो । छोरिको खुशिको लागि सबथोक गर्छु तर लोकसेवा पढ्दैन भन्ने अबस्था थिएन ।

उहाँको नजरमा लोकसेवा पढ्ने र नाम निकाल्ने मान्छे सधै प्राथमिकतामा पर्थ्यो । यति सम्मकि गाउँघरमा कसैलाई उहाँले के गर्दै छौ आजभोली भन्ने प्रश्नको जबाफमा लोकसेवा पढ्दै छु भनेर उत्तर दियो भने पनि उहाँ प्रफुल्लित हुनुहुन्थ्यो । उहाँलाई लोकसेवा भनेको सर्बस्व लाग्थ्यो । सधै जसो उहाँको मुखबाट निस्कने लोकसेवाबाणिले अन्तत: म पनि लोकसेवा पास गर्न सफल भए । गुरु जजुरको ४ बर्षे लेखापालको यात्रालाई पूर्णबिराम लगाउदै रोल्पाको परिवर्तन गाउँपालिकामा लेखा अधिकृतको रुपमा मेरो नियुक्ति भयो । मेरो नाम निस्किदा उहाँ धेरै खुशी हुनुभयो । निरन्तरको प्रयासले सफल भएको भन्दै उहाँले मलाई बधाई दिनु भयो ।

उहाँको जिबनमा मैले आफ्नो तर्फ बाट यहि एउटा मात्रै खुशी थपे जस्तो लाग्छ । अब चाहेर पनि उहाँको जिबनमा मैले थप अरु खुशीहरुको चाङ लगाउन सक्दैन । किनकी आज उहाँ यो संसारमै हुनुहुन्न । जसले म लगायत थुप्रै ब्यक्तिहरुलाई लोकसेवा पढ्न दिन रात प्रेरित गर्नु भयो र सफल बनाउन अथक प्रयास गर्नु भयो उहाँलेनै कोरोनाका कारण ६२ बर्षकै उमेरमा संसार छाड्नु पर्यो । परिवारका सासुआमा सहित जेठान दाईहरुपनी कोरोना सङ्ग जुधिरहनु भएको छ ।

जागिर खाईसकेपछी उहाँ सङ्गको भेटमा सधै उहाँले मलाई तपाईको कार्य क्षेत्र रोल्पा घुम्न जाने मन छ समय मिलाएर जानू पर्ला भन्नुहुन्थ्यो । रोल्पा घुम्ने ठूलो धोको थियो उहाँको । रोल्पा घुम्न जाने योजना सधाको लागि अधुरो राखेर उहाँको गएको बैशाख २९ गते अकल्पनीय रुपमा देहान्त भयो । कोरोना कहरको बज्रपात आफ्नै घरमा पर्यो । अब यो कोरोना कम भएपछी रोल्पा घुम्न जाने भन्दैहुनुहुन्थ्यो । उहाँलाई त्यहाँ लगेर घुमाउने र आफ्नो कार्यालय देखाउने ठूलो इक्षा थियो तर अब त्यो मेरो इक्षा यो मेरो मनमा सधाका खड्किरहने भयो । अनेक प्रयासका बाबजुत पनि उहाँलाई बचाउन सकिएन । बिदेश गएकी सालिले फोनमा रुदै भिनाजु यो मैले के सुन्नु परेको,के भयो यस्तो,कसरी यस्तो भयो भनेको सुन्दा मन भक्कानियो । म निशब्द भए भाबबिहोल अनि स्तब्ध भए ।
ससुराबुवाको आत्माको चिरशान्तिको कामना गर्दछु । स्वर्गमा बास रहोस बुवा ।