आमा बन्न अझै केही वर्ष छ : आँचल शर्मा

असार २७, २०७८


अभिनेत्री आँचल शर्मा चाहेर होस् ना नचाहेर समाचारको पात्र बनि रहन्छिन् । केही दिनयता उनी गर्भवती रहेको खबर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ । उनी स्वयंले आमा बन्न लागेको कुराको खुलासा गरेको दाबीसहित केही अनलाइन पोर्टलहरुले समाचार छापेका छन् । उनले यस विषयमा स्पष्टिकरण दिँदै फेक न्यूजबाट टाढा रहने आफ्ना प्रशंसकलाई आग्रह गरेकी छन् ।

उनले शनिवार साँझ इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘हालै, मेरो प्रेग्नेन्सी गर्भवतीको बारेमा कयौं खबर आए जुन खबर सुनेर म चकित छु । पक्कै पनि, नक्कली समाचारले ध्यान आकर्षित गर्छ र यसले उपेक्षा र अविश्वसनीयता सृजना गर्छ । तर, म आफ्ना शुभचिन्तकहरुलाई के स्पष्ट पार्न चाहन्छु कि केही राम्रा कारणले गर्दा यो खबर सुन्नका लागि अझै केही वर्ष प्रतिक्षा गर्नुपर्नेछ ।

आँचलले आफू आमा बन्ने भएपछि पहिलो खबर नै आफूले सुनाउने बताएकी छन् । अघिल्लो वर्ष डा.उदिप श्रेष्ठसँग बैबाहिक जीवनमा बाँधिएकी आँचल निषेधाज्ञाको समयमा ११ दिन सम्म विपश्यनामा बसेकी थिइन् । विपश्यना ध्यान शिविरबाट फर्किएपछि उनले आफूमा धेरै परिवर्तन आएको महशुस गरेकी छन् । आफ्नो सोच्ने र बोल्ने शैलीमा धेरै परिवर्तन आएको उनको भनाई छ ।

विवाह बन्धनमा बाँधिनुभन्दा अगाडि आँचलले फिल्म ‘झिँगेदाउ’ को छायांकन सकाएकी थिइन् । अब उनी आफैं फिल्म निर्माणको तयारीमा जुटेकी छिन् । फिल्म निर्देशनको अफर उनले मिलन चाम्सलाई गरेकी छिन् । कोरोना महामारी साम्य भएपछि फिल्मको प्रि(प्रोडक्सनको काम सुरु हुने जानकारी प्राप्त छ । कोरोना महामारी सुरु भएयता आँचलले नयाँ फिल्ममा काम गरेकी छैनन् ।