पुष्प र पलको लोभलाग्दो मित्रता

साउन ०७, २०७८


नायक पुष्प खड्का र नायक पल शाह म्युजिक भिडियोबाट चलचित्रमा आएका हुन् । दुबै जना भिडियोमा जमेपछि चलचित्रमा प्रवेश गरे । उनीहरुको चलचित्र यात्रा पनि सुखद छ । झट्ट हेर्दा पल र पुष्प एक अर्काका प्रतिस्पर्धी मानिन्छन् । तर, वास्तविक जीवनमा उनीहरुविचमा प्रतिस्पर्धाको कुनै पनि भावना छैन । बुधबार ‘कमेडी च्याम्पियन’ मा एकसाथ पुगेका पल र पुष्पले आफूहरु असल मित्र भएको बताए ।

हालै मात्र पुष्पले महंगो रकममा गाडी खरिद गरेका छन् । पुष्प आफूले जीवनमा ठूलै कुरा सोच्ने र त्यसलाई प्राप्त गर्न मिहिनेत पनि गर्ने बताउँछन् । सोही गाडीमा पल र पुष्प एकसाथ च्याम्पियनको सेटमा पुगेका थिए । पलले भने–पुष्पले गाडी किन्दा म निकै नै खुशी भएको थिए । पुष्पलाई फोन गरेर बधाई दिएँ । मलाई उनले गाडी किन्दा आफैले किने जस्तो महशुश भएको छ। किनकी, पुष्प र मलाई मिहिनेतको अर्थ राम्रो सँग थाहा छ ।

आजको दिनमा पल म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएका नायक हुन् । पुष्पलाई पनि दर्शकले भिडियोमा उत्तिकै रुचाएका छन् । चलचित्र बजारमा पनि यी दुइको माग उस्तै छ । चलचित्र क्षेत्रमा लागेर एक अर्कासँग व्यापारिक प्रतिस्पर्धा गर्दा कलाकारविच दुश्मनी बढेको देखिन्छ । तर, पल र पुष्पविचको मित्रता भने लोभलाग्दो छ ।