टरिगाउँ एयरपोर्ट देशको ‘ए’ क्लास डोमेस्टिक एयरपोर्ट – दीपक गिरी

साउन १०, २०७८     बिमल गौतम



नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री दीपक गिरीले इतिहास बोकेको दाङको एक मात्रै टरिगाउँ एयरपोर्टलाई नेपालकै ‘ए’ क्लासको डोमेस्टिक एयरपोर्ट बनाउन पहल गर्ने बताएका छन् ।
आइतबार रिपोर्टर्स क्लव दाङले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य गिरीले इतिहास बोकेको एयरपोर्टलाई कम्युनिष्ट सरकारले छायाँमा पार्ने खोजेको आरोप लगाए ।
‘ खै बजेटले एयरपोर्ट र दाङलाई कहाँ नेर चित्त बुझ्दो संबोधन गरेको छ,’ उनले प्रश्न गरे ‘ इतिहास बोकेको टरिगाउँ एयरपोर्टलाई देशकै ‘ए’ क्लासको डोमेस्टिक एयरपोर्ट बनाउन पहल गर्ने छु ।’
उनले आफु अहिले पराजित भएको र कुनैदिन आफुलाई नागरिकले म्यान्डेट दिएर माथि पठाए टरिगाउँ एयरपोर्टको बिकासको लागि सबै भन्दा पहिला ध्यान दिने बताए ।
रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले आफु पराजित भएको हुँदा संबिधानले पनि मन्त्री बन्ने अवस्था नरहेको भन्दै तरपनि कतिपयले दीपक गिरी ६ महिनाका लागि भएपनि मन्त्री बन्छन् भन्ने गरेको बताए । ‘ म पराजित मान्छे मन्त्री हुने कुरै आउँदैन,’ उनले भने ‘ यो हल्ला मात्रै हो र त्यसमा कुनै सत्यता छैन ।’
त्यस्तै नेता गिरीले तुलसीपुर–घोराही फोरलेन सडक बिस्तार कार्यमा तुलसीपुर उपमहानगरपालिकाको साधन स्रोत र सवारी साधनहरु दुरुपयोग भएको भन्दै बिरोध गरे ।

‘मैले सुनेको छु, मलाई धेरैले साथीहरुले तुलसीपुरका स्रोत साधन दुरुपयोग गरेको कुरा गर्नु भएको छ,’ गिरीले भने ‘ सडकको काममा नगरपालिकाका गाडी घोडाको लाइन किन लगाउने ?’
नेपाली काँग्रेसले अहिलै सत्तामा जान कुनै सोच नबनाएको भएपनि कम्युनिष्टको आपसी कलहका कारण देश बर्बाद हुन थालेपछि काँग्रेसलाई समयले सत्तामा पु¥याएको उनले बताए । त्यस्तै नेता गिरीले १४औं महाधिबेशन लोकतान्त्रिक बिधि पद्धतिमा शान्ति पूर्ण रुपमा सम्पन्न हुने आशा ब्यक्त गरे ।
रिपोर्टस् क्लबको साक्षत्कार कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य शंकर गिरीले लुम्बिनी प्रदेश सरकार अहिलेको अवैधानिक र अल्पतमा रहेको बताए ।
उनले लुम्बिनी सरकारले अब छिट्टै वैधानिक सरकार पाउने विश्वास व्यक्त गर्दै कांग्रेसको पनि प्रदेश सरकारमा सहभागिता रहने बताए ।