साथी सबैभन्दा माथी

साउन १५, २०७८     चिन्तामणि रेग्मी


साथी वा मित्रता हुनु एक मानवीय प्रवृत्ति हो । सुखमा होस यात दुःखमा, स्वाभावैले हामी कसैको साथ खोज्छौ । आफ्ना आमाबुवा, श्रीमान, श्रीमती, छोराछोरी, इष्टमित्रभन्दा बेग्लै हुन्छन साथी । जो पनि हुनसक्छ, जहिले पनि हुनसक्छ । यसमा न भुगोलले छेकवार लगाउछ, न धन दौलतले । न जातले रोकटोक गर्छ न धर्मले । साथी भनेको त्यस्तो व्यक्ति हो जसले तिमिलाई तिमि बन्न पुर्ण स्वतन्त्रता दिन्छ ।
बच्चामा इजार वा इलाष्टिक खुकुलो भएको कट्टु समाउदै कुदेका बेलादेखि बुढेसकालमा लौरोको सहारा लिएर हिड्दासम्म जिवनमा थुपै मानिसहरुसंग भेट हुन्छ । घरदेखि स्कुलसम्म, वस्तुभाउ चराउनदेखि मेला जाँदासम्म, अनि सिनेमाहलदेखि देश विदेश पुग्दासम्म साथीको साथको तिर्सना हामीलाई सदैव हुने गर्दछ । वास्तवमा संसारले प्रेमलाई झै मितत्रालाई पनि उत्तिकै महत्व दिएको छ । गास छोड्नु तर साथ नछोडनु भन्ने उखान त्यसै कथिएको कँहा हो र ? मित्रता आत्मिक मिलन हो । समान पद, प्रतिष्ठा, शक्ति र धनसंग यसको कुनै तुलना हुन सक्दैन । मित्रतामा सम्पत्ति भन्दा माथिको सद्भाव लुकेको हुन्छ ।

मित्रताको कुरा गर्दा महाभारत कथामा उल्लेखित द्रुपद र द्रोणको मित्रताको कथा यँहा उल्लेख गर्नु सान्दर्भिक होला । बालापनमा द्रुपद र द्रोण एउटै गुरुकुलमा पढथे । उनिहरुबिचमा प्रगाढ मित्रता रहेको थियो । त्यसैक्रममा एकदिन द्रुपदले आफु राजकुमार भएकोले पछि राजा भएपछि द्रोणलाई आफ्नो आधा राज्य दिने सद्भावसहितको बाचा गरे । पढाई सकेर दुवैजना आफ्नै संसारमा भुले । समय बित्दै जाँदा द्रोण गरिविको संकटमा परेपछि बालापनका मित्र र उनको बाचा सम्झेर उनलाई भेटन दरवारमा पुगे । द्रोणले आफ्नो परिचय दिदै पुरानो बाचालाई सम्झाए । तर द्रुपदले बालापनमा के के भनियो के के गरियो त्यो त्यतिबेलाको कुरा भएको दम्भयुक्त तर्क गर्दै हाल आफु राजा भएको र द्रोणसंग मित्रताको स्तर नमिल्ने घमण्ड देखाए । तर द्रोणको हैसियत सदैव उस्तै रहेन किनकी समय बलबान थियो । पछि द्रोण वीर पाण्डवहरुका गुरु बने । पाण्डवहरुलाई शिक्षा दिइसकेपछि एक दिन गुरु दक्षिणा लिने क्रममा उनले आफ्नो अपमानको बदला लिने सोच राखी द्रोणले आफ्ना शिष्यहरुलाई गुरुदक्षिणाको रुपमा द्रुपदलाई बाधेर ल्याउन अहृाए । पाण्डवले गुरुको आज्ञा मुताविक द्रुपदलाई बाधेर ल्याए । द्रुपदलाई यो अवस्थामा देखेर द्रोणलाई हाँसो उठयो । उनि संयमित भए, हाँसेनन । आँखामा आँखा जुधाएर हेर्दै भने पुर्वराजा द्रुपद नडराउनुहोस । म तपाईंलाई केहि गर्दैन । बालापनमा तपाई र म बिचमा गहिरो मित्रता थियो । संगै पढयौ, सिक्यौ, खायौ, बस्यौ, खेल्यौ । पछि तपाई राजा हुनभयो । ऐश्वर्यको मात लाग्यो । म संगको मित्रता बिर्सनुभयो । बचनबद्घता बिर्सनुभयो । तर म अझैपनि तपाईसित मित्रता चाहन्छु । अहिले तपाई अकिन्चन, म सत्तासिन । हामी बराबरी स्तरमा छैनौं । मित्रता त बराबरीका बीचमा मात्र हुन्छ क्यार । हैन ? यसै भएर म तपाईलाई पाञ्चाल राज्य आधा फिर्ता दिन्छु, हुन्छ ? आचार्य द्रोण आसनबाट उठे । सरासर गएर द्रुपदको बन्धन खोले । उठाएर अङ्कमाल गरे । उचित सम्मानसाथ बिदा गरे । द्रोणले द्रुपदलाई मित्रताको गतिलो सबक सिकाउदै पेचिलो प्रहार गर्दै भने मलाई तिम्रो राज्यको लोभ होइन किनकी मित्रता पद, प्रतिष्ठा र सम्पत्तिभन्दा उच्च स्तरको हुन्छ ।

त्यसैगरी पुर्विय दर्शनका कृष्ण र सुदामाको मित्रता, राम–लक्ष्मणको मातृत्व होस या त महाभारत कथामा कृष्ण अर्जुनको मित्रताको गहनतामा जिवनको दृष्यचित्रको सन्देश लुकेको पाइन्छ । जिवनमा असल मित्र मार्गदर्शक र आमावुवा स्मरणीय हुन्छन ।

मित्रता एउटा त्यस्तो बरदान हो । जो सबै किसिमको नाताभन्दा माथि हुन्छ । सुगम पोख्रेलले गाएका छन सबैभन्दा उ माथि छ, मेरो एउटा साथी छ । साथी त्यो हो जोसंग हृदयका सबै कुरा खुलेर भन्न सकिन्छ । साथी नै हो जसलाई आफ्नो भन्न सकिन्छ । यसप्रकार एउटा सच्चा साथी तिमिसंग आउछ जव सारा संसारले तिमिलाई छोडेर हिडछ । नारायण गोपालले गाएका छन एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पार्दछ जिन्दगीमा । यसरी मित्रताको भावना र मर्म बोकेको भरमा धेरै गितहरु कालजयी भएका छन । मित्रता त्यस्तो सम्बन्ध हो जसमा स्वार्थ, लालच, घमण्ड र तुलनाको कुनै अर्थ हुँदैन । मित्रता एउटा सुन्दर जिम्मेवारी हो मौका होइन ।
शास्त्रले भन्छ जति धेरै साथी बनाउछौँ उति धेरै खुशी हुन्छौ । चिकित्सकहरु भन्ने गर्छन धेरै साथी बनाउने घुलमिल गर्ने प्रवृत्तिले धेरै किसिमका मानविय समस्याहरुबाट मुक्त भइन्छ । मनोचिकित्सकहरु भन्छन मित्रतापुर्ण व्यवहारले मानसिक सन्तुलन गुमाएकाहरुलाई समेत ठिक बनाउन सहयोग मिल्छ । घरपरिवारको माया नपाउँदा र एक्लो हुँदा धेरै पीर परेर हुनेखालका मानसिक समस्या मित लगाउने वा मिल्ने साथी पाएपछि कम हुन्छ । मित्रतामा कुनै स्वार्थ हुँदैन । मित्रता त्यस्तो बन्धन हो, जसले आपसमा दुःख सुख साझेदार गर्न सक्छन । सुखमा रमाउने र दुःखमा साथ दिने मित्रता नै दिगो र भरपर्दो हुन्छ । मित्रता त्यस्तो हुनुपर्छ जसमा दुवैले दुवैलाई दिन खोजुन

यद्यपी मित्रता बनाउनु र यसलाई टिकाइराख्नु सजिलो छैन । मित्रतालाई टिकाउनका लागि त्यसमा सहयोगको भावना, समर्पणको भावना, प्रेमको भावना हुनुपर्छ । मित्रता आपसी सहयोग, सहकार्य, भरोसा र विश्वासको आडमा टिकेको हुन्छ । त्यसैले मित्रतालाई दिगो, भरपर्दो, रसिलो, कसिलो राख्नका लागि एक अर्काप्रति विश्वास प्रेम कायम राख्नुपर्ने हुन्छ ।
वर्षातको समय छ, यदि तपाईहरुबिच कुनै किसिमको रिस, द्वेश, बैमनस्यता छ भने मित्रता दिवशमा पानिको भेलले बगाएको फोहोरमैलाझै सिनित्त बगाएर सकाउनुहोस र मित्रतालाई अझै कञ्चन बनाउनुहोस । त, तिमि वा तपाई जे भनेतापनि साथी भनेको हृदयको ऐना हो । यो सम्बन्धलाई सदैव स्वच्छ र खुला राखौँ । राम्रो साथी बन्न र बनाउन सदैव लागि परौँ । मित्रता दिवशको हार्दिक शुभकामना । सबैको जय होस ।

लेखक सरुमारानी गाउँपालिका, प्यूठानका प्रमुख प्रशासकीय अधिकृत हुनुहन्छ ।

लेखकको वारेमा थप जानकारी लिन तलको लिंकमा क्लिक गर्नुहोस ।

https://www.facebook.com/chintamani.regmi1

यो पनि पढ्नुहोस्…