शिवरात्रीमा ‘लप्पन छप्पन २’ रिलिज हुने

भदौ २९, २०७८


चलचित्र ‘लप्पन छप्पन २’ आगामी फागुन १३ गते रिलिज हुने भएको छ । अघिल्लो वर्ष महाशिवरात्रिमा रिलिजको घोषणा गरिए पनि कोरोना महामारीका कारण हुन नसकेको चलचित्रका निर्देशक मुकुन्द भट्टले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा चलचित्र ‘लप्पन छप्पन २’ आगामी फागुन १३ गतेबाट प्रदर्शन गर्ने मिति तय गरिएको उल्लेख गरेका छन् ।

नेपालसँगै युरोप र अस्ट्रेलियामा छायांकन गरिएको यस चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाहीलगायत कलाकारको अभिनय रहेको छ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएसँगै सिनेमा हलले सञ्चालन गर्ने अनुमति पाएको छ । सरकारले स्वास्थ्य मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल संचालन गर्न दिने निर्णय सरकारले गरेको छ ।

तर हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले भने शतप्रतिशत अकुपेन्सीसहित देशैभरका हल खोल्न अनुमति दिन माग राखेको छ । अन्यथा हल खोल्न नसकिने संघको भनाइ छ । यसअघि निर्देशक एवं अभिनेत्री झरना थापाले पनि आगामी चैत २५ गते ‘ए मेरो हजुर ४’ रिलिज गर्ने बताइसकेकी छन् ।